बैशाख ६, काठमाडौँ । नेकपाका महासचिव पौडेलले बालुवाटारमा रहेको आफ्नो आठ आना जग्गा सरकारीकरण गर्ने मन्त्रिपरिषदको निर्णयलाई स्वागत गरका छन्।
सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न सहयोग गरेर खरिद गरेको आरोप लागि रहेका बेला पौडेलले दोस्रोपटक विज्ञप्ति निकाल्दै सरकारीकरण गर्ने निर्णयलाई समर्थन गरेका छन्। पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बालुवाटारस्थित सरकारी जग्गा गैरकानुनी रुपले व्यक्तिका नाममा भएको दर्ता बदर गरी सरकारकै नाममा कायम गर्न सरकारले गरेको निर्णय र चालेको कदमलाई पनि म हार्दिक स्वागत तथा समर्थन गर्दछु।’
पौडेलले आफूले २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका– ४ रहेको आठ आन जग्गा उमा ढकाल र माधवी सुवेदीबाट कानुनअनुसार खरिद बिक्री गर्न मिल्ने एकिन गरी किनेको दाबी गरेका छन्।
उनले सरकारी जग्गा अतिक्रमणमा आफ्नो कुनै भूमिका नरहेको उल्लेख गरेका छन्। बालुवाटारमा जग्गा किन्दा २०६१ असोज २४ गते नवलपरासीको बर्दघाट नगरपालिका–१० पूर्व-पश्चिम राजमार्ग नजिकै श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बेचेको बताएका छन्।