बैशाख १०, काठमाडौँ । जिल्ला अदालत ललितपुरले नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोट प्रकरणमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अदालतले पोलिटब्युरो सदस्य ओलीसहित शिव धिमाल, दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई, बिरबहादुर कठायतलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
सुदर्शनलाई काभ्रेबाट राजधानी छिर्दै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।
फागुन १० गते राति भएको विस्फोटमा परी घाइते भएका लमजुङका सिंहप्रसाद गुरुङको मृत्यु भइसकेको छ। अन्य दुई जना घाइते भएका थिए । सरकारले नेकपालाई देशमा ध्वंसात्मक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।
नेपाल प्रहरीले प्रतिबन्ध लगाएदेखि पार्टीका २०९ जना कार्यकर्ता तथा नेतालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।