बैशाख १५,काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
१९ औँ व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आईतबार बिहान राजधानीमा भएको प्रभातफेरी पछि प्रज्ञा प्रतिष्ठानमा आयोजित कोणसभालाई सम्बोधन गर्दे मन्त्री बिष्टले श्रमिकको हक हितका पक्षमा नीति निर्माण गरि सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने बताएका हुन् ।
उनले दैनिक कामका लागि विदेशीने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले सरकारले आवश्यक नीति नियम बनाउन लागेको उल्लेख गरे ।
‘सबैलाई सामाजिक सुरक्षा ऐनको दायरामा ल्याई उचित पारिश्रमिक, स्वास्थ्य सेवा , पेन्सन लगायतको सुनिश्चित गर्दै कार्यस्थललाई मर्यादित, स्वास्थ्यकर र सुरक्षित पार्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको छ’ मन्त्री विष्टको भनाई छ । कार्यक्रममा व्यवसायीहरुले व्यवसायजन्य स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाउन माग गरे ।
उनीहरुले श्रमिकको स्वास्थ्य लगायत कार्यस्थललाई सम्पुर्ण दृष्टिकोणबाट सुरक्षित बनाउने तर्फ सरकारका कार्यक्रमहरु केन्द्रीत हुनुपर्नेमा जोड दिएका थिए ।