जेठ ७, काठमाडौँ । केपी ओली नेतृत्वको २४ सदस्यीय मन्त्रिपरिषद्का काममा खबरदारी गर्न कांग्रेसले ५८ सदस्यीय छाया सरकार गठन गरेको छ।
ओली सरकारका २१ वटै मन्त्रालय निगरानी गर्ने गरी २१ नेतालाई सम्बन्धित मन्त्रालयको संयोजक र ३७ जनालाई सदस्यको जिम्मेबारी दिइएको हो।
पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाको नेतृत्वमा चल्ने छाया सरकारमा मन्त्री बनिसकेका प्रभावशाली नेतालाई समेत संयोजकको जिम्मेवारी दिइएको छ।
सरकारलाई प्रभावकारी र जवाफदेही बनाउन निरन्तर निगरानी र खबरदारी गर्न सरकारकै शैलीमा अभ्यास गर्नु नै छाया सरकार हो। यो अन्तर्राष्ट्रिय अभ्यास पनि हो।
छाया सरकारका प्रधानमन्त्री र मन्त्रीलाई सरकारका मन्त्रीहरुले सम्हालेको मन्त्रालयको निगरानी गर्ने जिम्मेवारी हुन्छ।
आफ्नै सांसदलाई सक्रिय बनाउन र सरकारमाथि पनि निगरानी बढाउन बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्डलगायतका देशमा छाया सरकारको अभ्यास गरिन्छ।
यस अघि ०५२ मा एमलेको नौमहिने शासनकालमा पनि कांग्रेसले छाया सरकारको अभ्यास गरिसकेको छ।