विप्लव समूहद्वारा सैनिक जवान अपहरित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ १२, आईतबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

जेठ १२, काठमाडौँ । प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको एक समूहले नेपाली सेनाका जवानलाई हपहरण गरेको छ।

अपहरणको उक्त घटना विप्लव र सेना दुबैतर्फबाट एक महिनासम्म चुपचुप राखिएको छ।

रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए।

छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो। सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन्। अपहरणको यो घटना वैशाख १६ गतेको हो। अपहरणलगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो।

शाही परिवारसँग विप्लव समूहले दुई लाख रुपैयाँ चन्दा मागेको थियो। वीरबहादुरले चन्दा दिन अस्वीकार गरेका थिए।

चन्दा नदिएकै कारण शाहीलाई कार्यकर्ताले अपहरण गरेका हुन्। विप्लव समूहले जुनिचाँदे गाउँपालिकालगायत जाजरकोटका अधिकांश गाउँमा २० हजार देखि ४ लाखसम्म चन्दा उठाउने गरेका छन्।

शाही अपहरणका लागि २०÷२५ जनाको समूहको टोली उनको घर पुगेको थियो। त्यसमध्ये ९ जना महिला रहेको सैनिक स्रोतले उल्लेख गरेको छ।

शाही विप्लवका कार्यकर्ताको पञ्जाबाट भागेर तालिमरत स्थान सैनामैनास्थित श्री नम्बर दुई गणमा फर्केका छन्। शाही कति दिन अपहरणकारीको कब्जामा रहे त्यो विषय भने खुलेको छैन।

शाहीलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको जंगी अड्डाका अधिकारीले पुष्टि गर्दै भने, ‘अपहरणमा परेका सैन्य अधिकारी सेनाको सम्पर्कमा आएका छन्। उनी सकुसल छन्।’अपहरणका बेला विप्लव समूहले आफूलाई कुनै शारीरिक यातना नदिएको शाहीले जानकारी गराएका छन्।

विप्लव समूहले सैनिक अधिकारीलाई अपहरण गरेको घटनालाई लिएर जंगी अड्डा गम्भीर बनेको छ। सेनालाई उत्तेजित गराउने उद्देश्यले सैनिक अधिकारीको अपहरण गराइएको हुुन सक्ने जंगी अड्डाको बुझाइ छ।

‘नेपाली सेनालाई उत्तेजित गराउने उद्देश्यले यस्ता गतिविधि गराइएको हुन सक्छ,’ एक उच्च सैनिक अधिकारीले भने, ‘सेनालाई उत्तेजित बनाई विप्लवका गतिविधिविरुद्ध परिचालित गराउने षड्यन्त्र त होइन भन्ने आशंका बढिरहेको छ। सैनिक नेतृत्व तहबाटै यसमा विश्लेषण पनि भइरहेको छ।’

जबर्जस्ती चन्दा असुली तथा व्यक्ति अपहरणजस्ता कार्यलाई जघन्य अपराधका रूपमा लिइन्छ।

‘सैनिक अधिकारीको अपहरण र तीनका परिवारबाट जबर्जस्ती चन्दा असुलीजस्ता आपराधिक गतिविधि सेनालाई कदापि स्वीकार्य हुँदैन’, ती सैनिक अधिकारीले भने, ‘त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न सेनाले कसैको आदेश कुर्नु पर्दैन।’

ताजा अपडेट

खोजी गर्नुहोस