जेठ १६,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेका छन् । पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै प्रचण्डले सो सहमति केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गरे ।
पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने प्रचण्डको भनाइ छ ।
प्राइम टेलिभिजनका लागि ऋषि धमलासँग गरिएको कुराकानीमा क्रममा अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षको जिम्मेवारी आफूले पाएको खण्डमा ओलीलाई पाँच वर्ष नै प्रधानमन्त्री मान्न सकिने बताए ।
तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो ।
गोप्य सहमितमा प्रचण्ड र ओलीले हस्ताक्षर गरेका छन् भने साथीएका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको समेत हस्ताक्षर छ ।
हेर्नुहोस् गोप्य सहमति
समानताका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकोमा केपी शर्मा ओलीले १५ महिना सरकारको नेतृत्व गरिसकेका छन् । अब उनको अढाइ वर्षे कार्यकाल पूरा हुन १५ महिना बाँकी छ ।
यसवीचमा सरकारले राम्रो काम ग¥यो र पार्टी सन्तुष्ट भयो भने ओलीलाई ५ वर्ष नै सरकार चलाउन दिने प्रचण्डले बताएका छन् । तर, ओलीलाई ५ वर्ष प्रधानमन्त्री बन्न दिनका लागि पार्टी सञ्चालनको जिम्मा आफूले पाउनुपर्ने प्रचण्डको माग छ ।
प्रचण्डले यसो भनेका छन्–
पार्टी एकता गर्दा पक्कै पनि हाम्रोवीचमा समझदारी भएको छ । हामीले सहमतिबाट नै निर्णय गरेर जानुपर्छ । पार्टीमा र सरकारको नेतृत्व पनि हामीले आलोपालो गर्ने नै भन्ने सहमति छ । त्यो लिखितै छ । त्यो बाहिरै आइसक्या छ । त्यो किताबमा छापिएरै आइसक्या छ । त्यसकारण यो के हो भनेर धेरै प्रश्न गरिराख्न आवश्यक म ठान्दिनँ । आलोपालोमा जाने सहमति भएकै छ ।
केपीजी र मेरो कुरा हुँदा हामी सहमतिअनुसार नै जाने भन्ने कुरामा नै हामी प्रतिवद्ध छौं । त्यसकारण अहिले म आशंका गर्न पनि चाहन्न । यो विषय फेरि के हो भने उहाँ र मवीच सहमति भयो, पार्टीभित्र सहमति भयो भने पाँचै वर्ष केपी ओली हुन पनि हुन्छ । मलाई चैं प्रधानमन्त्री लिन हतारो विल्कुलै छैन ।
देशमा सुशासन र विकासले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टीलाई मुख्यरुपमा हेर्ने र अर्को चाहिँ अध्यक्षले प्रधानमन्त्री मुख्यरुपमा हेर्ने गरी काम मिलायो भने मलाई सहज हुन्छ । मलाई प्रधानमन्त्री नभई नहुने, चाहिने भनेर मैले सोचेको छैन । मानिसहरुले त्यसै हो कि भन्छन्, कतिपय अलिकति संकीर्ण, अलिकति पूर्वाग्रही आँखाले हेर्नेहरुले चाहिँ मैले थोरै जनताका गुनासो, जनताका कुराहरु बोलें भने प्रधानमन्त्री हुन बोल्या हो कि भन्ने पनि मान्छे छन् । तर, मेरो त्यो कुरा होइन । राम्रोसँग पार्टी रन भयो, राम्रोसँग सरकार रन भयो भने त्यो आलोपालो भनिएको भए पनि पाँचै वर्ष केपीजी बस्दा पनि मलाई आपत्ति हुँदैन । म समर्थन गरिराख्छु ।
म एउटा कुरालाई फेरि दोहो¥याउँछु– सुशासन र विकासले गति लियो, सरकार दिन प्रतिदिन अझ बढी लोकप्रिय कामहरु गर्दै अगाडि बढ्यो भने हामीले सहमति गरेकोमा प्रधानमन्त्री फेरिराख्नुपर्छ भन्नेमा म छैन । तर, म पनि एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित त हुनुपर्छ । त्यसो भयो भने सरकारको नेतृत्व एउटा अध्यक्षले, पार्टीको नेतृत्व एउटा अध्यक्षले ग¥यो भने सन्तुलन मिल्छ र म फेरि प्रधानमन्त्री भइराख्न पनि पर्दैन । मैले खेल्ने पार्टी अध्यक्षका रुपमा राम्रोसँग भूमिका खेल्छु ।
अहिले यो छलफलको विषय छ । हाम्रो पार्टी पंक्तिमा पनि, लिडरसिप लेबलमा पनि छलफल चलिराखेकै छ ।
तर, एउटा कुरा के हो भने फेरि विभिन्न परिस्थितिले काम पनि गर्छ । त्यो सबै परिस्थितिमा हिजो हामीले एकता गर्दा जे सहमति गरेका थियौं, त्यो सहमतिप्रति हामी सबैले इमान्दार त हुनैपर्छ । म अहिले कसैप्रति आशंका गर्दिनँ । म के विश्वास गर्छु भने कामरेड केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले नै अप्ठ्यारो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ ।
राम्रो काम भयो र सहमति पार्टीभित्र भयो भने उहाँलाई नै पाँचै वर्ष चलाउन दिन मैले केही नै अप्ठ्यारो मान्दिनँ । उहाँले पनि पार्टी सञ्चालन तपाईले राम्रोसँग गर्नुहोस् भनेर दिन उहाँले अप्ठ्यारो मान्न हुँदैन ।