जेठ १८, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग सरकार आलोपालो चलाउने विषयमा भएको सहमति कुनै नौलो नभएको स्पष्ट पारेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी भएर आउने क्रममा विमानमै उनले पत्रकार ऋषि धमलासँग कुरा गर्दै यो कुरा कुनै नौलो विषय नभएको बताए। उनले आफू विदेश भ्रमणमा रहेका बेला यस्तै चर्चा हुने गरेको बताउँदै भने, ‘यो अहिलेको कुनै विषय नै होइन, जुनबेला म विदेश भ्रमणमा हुन्छु त्यसबेलामा कुनै न कुनै यस प्रकारका कुरा निस्किन्छन् । स्थिरता भनेको नीतिमा हो । स्थिरता भनेको बहुमतको सरकारमा हो । र, स्थिरता भनेको नेताहरुका बीचको सहमति र सहकार्यको कुरा हो । यसलाई अनेक ढंगले टिप्पणी गरिरहनुपर्ने, उछालिरहनुपर्ने यो हाम्राबीचमा के कुरा भएको छ ?’
प्रधानमन्त्री ओलीले यो कुरामा आफूहरुले गएको वर्ष नै सहमति गरेको र सार्वजनिक भएकाले अहिले चर्चा गर्न नपर्ने बताउँदै भने, ‘गत वर्ष हामीले जुन सहमति गर्यौँ । पार्टी एकता गर्यौँ। त्यो कुरा त कुनै नयाँ कुरा होइन । अहिले आएर बेलुन बनाएर फुकिरहनुपर्ने कुनै आवश्यकत्ता नै छैन ।’
प्रधानमन्त्री ओलीले आफूहरुबीचको यो सहमतिलाई अहिले ठूलै समस्या आइपरेजस्तै उचालेर नागरिक र कार्यकर्तामा आशंका र सन्देह पैदा हुने गरी चर्चा गर्न नहुने बताए
त्यस्तै पत्रकार धमलाको ‘तपाईँलाई जनताले पाँच वर्षका लागि प्रधानमन्त्री बनाएका हुन्, बीचमै छाड्ने सहमति भएको हो र’ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले त्यस विषयमा आफू छलफल गर्न नचाहेको जवाफ दिए । ‘यतिबेला यो चर्चा गर्ने ? मैले आज बिहान पनि एउटा सञ्चारमाध्यमलाई भनेँ तपाईँहरुलाई खुशी लाग्छ भने म चार पाँच दिनमात्रै हो, चार पाँच दिनपछि हटिहाल्छु भन्दिन्छु ।’
त्यस्तै प्रचण्डको पछिल्लो अभिव्यक्तिले तपाईँसँगको सम्बन्धमा चिसोपन आएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री ओली भन्छन्, ‘चिसोपन कहाँ आएको छ? कसैले सोध्यो होला । हाम्रा बीचमा सहमति नभइकन त पार्टी एकता भएको छैन् । एकता गर्दा केही सहमतिका पक्षहरु छन् । त्यसलाई कमजोर पार्ने गरी, एकता खलबलाउने गरी केही चर्चा गर्नुपर्ने आवश्यकत्ता छैन । जे सहमति भएका छन् । ती सबै आफ्नो बाटोमा र कोर्समा अघि बढ्छन् ।’