असार १७,काठमाडौँ । पर्वतीय पर्यटन प्रवद्र्धनमा विशेष योगदान गरेको भन्दै ‘प्रकाश दाहाल स्मृति प्रतिष्ठान’ले एक विदेशीसहित चार पर्वतारोहीलाई सम्मान गरेको छ ।प्रकाश दाहालको ३८ औँ जन्मजयन्तीको अवसरमा आज यहाँ आयोजित ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान–२०७६’ कार्यक्रममा सगरमाथा ओरोही तथा सम्पर्क अधिकृतका रुपमा कार्यरत ज्ञानेन्द्रकुमार श्रेष्ठ, आइसफल डा आङ सार्की शेर्पा, पर्वतारोही छिरिङ तुन्डु शेर्पा, साहसिक महिला आरोही माया शेर्पालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गरे ।
सोही अवसरमा नेपाललाई विगत ३४ वर्षदेखि सहयोग गर्दै आउनु भएका पर्वतारोही दक्षिण कोरियाका नागरिक अम हङ गिललाई पनि सम्मान गरे ।
सगरमाथा ओराहीलाई सम्पर्क अधिकृतका रुपमा सहयोग पु¥याउनु भएका श्रेष्ठ, महिलालाई सगरमाथा ओरोहणका लागि प्रेरित गर्ने माया, आरोहीलाई बाटो बनाई सहयोग गर्ने आइसफल डा आङ सार्की, पर्वतारोही छिरिङ र कोरियन नागरिक गिलको योगदानको बारेमा समेटिएको श्रव्यदृश्य सामग्रीसमेत कार्यक्रममा देखाइएको थियो ।
यस्तै सो अवसरमा अर्बुद रोगबाट पीडित पूर्वजनमुक्ति सेना धर्मबहादुर ओली र १३ वर्षीय बालिका पल्लवी श्रेष्ठलाई जनही रु एक÷एक लाख नगद सहयोग प्रदान गरियो ।
प्रकाश योग्य र परिपक्व अध्यक्ष दाहाल
कार्यक्रमका सहभागीले अल्पायुमै निधन भएका प्रकाशले राजनीतिक, सामाजिक एवम् पर्वतीय पर्यटनमा पु¥याएको योगदानको चर्चा गरियो । सो अवसरमा नेकपाका अध्यक्ष एवम् प्रकाशका पीता प्रचण्डले प्रकाशले ३६ वर्षकै उमेरमा सबै अनुभव सङ्गालेको बताउँदै उनका सकारात्मक योगदानबाट पाठ सिक्नुपर्ने बताउनुभयो । उनले भने, “प्रकाशले सबै तीतामीठा अनुभव गरे । राजनीतिक समाजसेवा, प्रेम विवाह, परिवार र आधुनिक प्रविधि र सरकार र पार्टी सञ्चालनमा पु¥याएको योगदान अमूल्य छ ।” अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा प्रकाशले गरेको सहयोग अविस्मरणीय रहेको बताए । प्रकाशको बाल्यकाल असाध्यै कठिन अवस्थामा बितेको भए पनि पछिल्ला दिनमा परिपक्व भइसकेको अध्यक्ष दाहालले सुनाए ।
“प्रकाश दाहालको अभावमा प्रचण्डको झण्डै दाहिने हात नै भाँचिएको जस्तो महशुस
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सामान्य काम सबैले गर्ने भन्दै विशेष काम थोरैले मात्र गर्ने र त्यसमध्ये एक प्रकाश भएको बताए । सामान्य मानिसले आँटसमेत गर्न नसक्ने सगरमाथा आरोहण गरेर सफलता प्राप्त गर्नु निकै कठिन काम भए पनि प्रकाशले सफलता हासिल गरेको उनले स्मरण गरे । नेता नेपालले भने, “प्रकाश दाहालको अभावमा प्रचण्डको झण्डै दाहिने हात नै भाँचिएको जस्तो महशुस मैले गरेको छु ।”
पार्टी सञ्चालनदेखि सरकार सञ्चालनमा पनि प्रकाशको अभाव भइरहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रकाशमा बन्दुक चलाउन मात्रै नभई प्रविधिमा पनि उत्तिकै दक्ष रहेको आफूले पाएको बताए ।
नेपाली काँग्रेस नेता डा. प्रकाशशरण महतले पछिल्लो पटक अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा आफूले परराष्ट्रमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्दा प्रकाशसँग सङ्गत गर्ने अवसर पाएको स्मरण गर्दै उनी कुशल व्यवस्थापक भएको उल्लेख गरे ।
खानेपानी मन्त्री तथा प्रकाश पत्नी बीना मगरको सभापत्विमा सम्पन्न कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादव र शहरी विकासमन्त्री इस्तियाक मोहम्मद राईलगायतले प्रकाश नेपाली युवाको प्रेरणाको स्रोत रहेको बताए ।