अन्तत: महराविरूद्ध रोशनीले दिइन् प्रहरीमा उजुरी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन १८, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज १८, काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध जाहेरी परेको छ ।

जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । काठमाडौं प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको पुष्टि गरे ।

यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो ।

महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमान्सँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् ।

पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् । यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो ।

जाहेरी परेसँगै प्रहरीले अनुसन्धानमा पुनः तादरुकता देखाएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने, ‘हामीले अहिले विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

अब महरालाई प्रहरीले पक्राउ गर्ने सम्भावना समेत छ ।

प्रकरण सतहमा आएपछि प्रहरीले गरेको कल डिटेल रेकर्ड (सीडीआर), सीसी टीभी फुटेज र अन्य प्राविधि पक्षको विश्लेषणले महरा घटनास्थलमा पुगेको पुष्टि भइसकेको प्रहरी दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस