कार्तिक १५, काठमाडौं । विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै विद्यार्थीहरुले कांग्रेसको मुख्यालय सानेपामा नाराबाजी गरेका छन्।
५० वर्ष पुगेका राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउन खोजेको भन्दै कुन्दन काफ्ले समूहका विद्यार्थीहरुले ने. का. सभापति शेरबहादुर देउवालाई घेरेर नाराबाजी गरेका हुन्।
उनीहरुले ‘टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै’ नाराबाजी गरेका हुन्। पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका देउवालाई घेर्दै विद्यार्थीहरुले नाराबाजी गरेका हुन्।
कार्यालयको मुख्यप्रवेशद्वारमा बसेका विद्यार्थीहरु देउवा आएपछि उनलाई पछ्याउँदै भित्रैसम्म नारा लगाउँदै गएका थिए।
नेविसंघ नेता नवराज त्रिपाठी नेतृत्वका दर्जनौं विद्यार्थीले देउवाविरुद्ध प्रदर्शन र नाराबाजी गरेका हुन्। नाराबाजीमा सहभागीहरुले उमेर हदअनुसार ३२ वर्ष तलको नेतृत्व संगठनमा ल्याउनुपर्ने माग गरे।
विद्यार्थीहरुले चर्का नाराबाजी गरेपछि आक्रोशित भएका देउवाले औंलो उठाउँदै अपशब्दसहित गाली गरेको विद्यार्थीले बताए।