महेश बस्नेत भन्छन–’कांग्रेसले मेरो वा तेरो भनेर आत्तीनु पर्दैन, कानुनभन्दा माथि कोही छैन’

Post Thumbnail

फागुन १०,काभ्रे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हावाले भरिएको बेलुन तथा घमण्डले भरिएको मान्छे जस्तै भएकाले कांग्रेसको वेलुनलाई कसैले फुटाइरहनु नपर्ने, जुन आफै फुट्ने बताएका छन ।

आज नमोवुद्ध नगरपालिका वडा नं. ९ मा ग्याल्बो ल्होछार कार्यक्रममा बोल्दै मुलुक समृद्धिको बाटोमा तिव्र गतिमा अघि बढिरहेको बताउँदै उनले कांग्रेसलाई एजेण्डा विहिन भएकाले भिरबाट लडेको मान्छे जस्तो जे भेट्यो त्यही समात्ने गरेको बताए । वर्तमान नेकपाको सरकारले मुलुकको चारै दिशामा विकासका मुलहरु फुटाएको उल्लेख गर्दै कांग्रेसले आफ्नो अस्थित्वलाई स्थापीत गर्न सरकारसँग सहकार्य गरि अघि बढ्न आग्रह गरे ।

अनावश्यक मुद्धालाई उठाई कांग्रेसले आफ्नो विगतको साख समेत गुमाउँदै गएको बताउँदै उनले झुटको खेती नगर्न समेत कांग्रेसलाई सचेत गराए । उनले मुलुकको समृद्धि कुनै एक पार्टीको नभई समग्र मुलुक तथा जनताको भएकाले कांग्रेसले वर्तमान सरकारले गरेको कामलाई नआत्ती साथ र सहयोग गर्न आग्रह गरे ।

उनले भने, ‘मुलुकले काँचुली फेर्दैछ । यसमा साथ दिनु कांग्रेसको पनि दायीत्व हो । सरकारले विकास र समृद्धिको साथमा भ्रष्टाचार तथा सुशासन स्थापना गर्न थालेको छ । कांग्रेसले मेरो वा तेरो भनेर आत्तीनु पर्दैन । कानुनभन्दा माथि कोही छैन । कानुनी राज्यको आभास हुने र जनतालाई महशुस गराउने गरी सरकारले काम गर्छ ।’

समर्थक र सभेच्छुकहरुले कुनै पनि राजनीतिक घटनाक्रमबाट नआत्तीन आग्रह गर्दै राजनीतिक गर्ने व्यक्तिलाई कहिले काँही बदनाम गराउने उद्देश्यले समेत केही घटनाहरु आइरहने बताए । जुनसुकै घटनाक्रमको समाधान गर्ने कानुनी निकाय रहेको उल्लेख गर्दै उनले स्वतन्त्र निकाले वास्तविकता छानविन गरी कसैलाई काखा, कसैलाई पाखा भन्ने नहुने स्पष्ट पारे ।

अविकसित मुलुकलाई अमेरिकी सरकारले गर्ने सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रको हितमा रही पास हुने बताउँदै उनले एमसीसीका केही बुँदाहरु संशोधन गरी संसदबाट पास हुने स्पष्ट पारे । विरोधको नाममा विरोध गर्नुको कुनै औचित्य नभएको बताउँदै उनले मुलुकको हितको लागि कसैले सहयोग गर्छ भने उक्त सहयोग स्वीकार्नु पर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस