वैशाख २०, काठमाण्डौ । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको अवधि अहिलेका लागि २५ वैशाखमा सकिँदै छ । योसँगै त्यसपछि नेपालमा लकडाउन कुन अवस्थाको हुने भन्ने प्रश्नहरु पनि उठ्न थालेका छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा यसबारे शुक्रबार चर्चा पनि भयो । बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले २५ वैशाखदेखि लकडाउन खुकुलो बनाउने तयारी गरेको बताए ।
अहिलेसम्म कोरोनाभाइरस रोकथामका लागि बनेको उच्चस्तरीय समन्वय समितिमा चाहिँ छलफल भएको छैन । स्वास्थ्यमन्त्री ढकालले चाहिँ अब एम्बुलेन्सहरुलाई कसरी एकीकृत गरेर सेवा दिने भन्नेबारे गृहकार्य भएको बताए । उनले कृषि, उद्योगधन्दा तथा अरु विभिन्न महत्वपूर्ण कामहरुको विषयमा पनि कसरी अगाडि बढ्ने भन्ने सरकारले विचार गरिरहेको बैठकमा बताएका छन् । यसको अर्थ हो, २५ वैशाखपछि पनि सरकारले केही समयका लागि लकडाउन लम्ब्याउने छ । तर, सरकारले योबीचमा लकडाउनको मोडालिटीमा भने केही परिवर्तन ल्याउने तयारी गरेको छ । नेपालमा ११ चैतबाट लकडाउन सुरु भएको थियो ।