असोज ४, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनलगायत चार एजेण्डामा छलफल शुरू गरेको छ । स्थायी कमिटी बैठकको सुझावअनुसार मन्त्रिपरिषद् पुनर्गठनको छलफल शुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘पुनर्गठनका सन्दर्भमा सचिवालयले नीतिगत रूपमा सुझाव दिएको छ ।
त्यसबारेमा व्यक्तिको नाममा प्रवेश गरेका छैनौँ । आवश्यक परे त्यसबारे पनि छलफल गर्छौं,’ श्रेष्ठले भने । २०७५ जेठ ३ गते पार्टी एकता पछि नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बसेको हो । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित थिए । भदौ २६ गते बसेको नेकपा स्थायी कमिटी बैठकले चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो ।