कार्तिक १९, काठमाण्डौ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । सेनाध्यक्ष नरवणेको भ्रमण तयारीमा गर्नुपर्ने सुरक्षा लगायतका सबै आवश्यक तयारी सूक्ष्म ढंगले गरिएको र उनीसँगको छलफल दुई सैनिक संस्थाबीचको सम्बन्ध र सहयोगका विविध आयाममा केन्द्रित रहने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलको भनाई छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी पदवीले सम्मान गर्ने कार्यत्रलम पनि रहेको छ । यो दुई मुलुकबीचको सात दशक लामो परम्परा पनि रहेको छ । एकअर्का मुलुकको सेना प्रमुखलाई सम्मान गर्ने परम्पराले दुई मुलुकबीचको सैन्य सम्बन्ध र नेपाल भारतबीचको पृथक सम्बन्धलाई परिभाषित गर्दछ ।
दुबै मुलुकको सैन्य सम्बन्ध बहुआयामिक छ । हाल करिब ३० हजार गोर्खा सैनिकहरु भारतीय सेनामा छन् । भारतीय सेनाले नेपाली सेनालाई आधुनिकीकरण, प्रशिक्षण, क्षमता अभिवृद्धि, मानवीय सहायता र विपद् व्यवस्थापन, सैन्य अभ्यासलगायतका कुराहरुमा दशकौंदेखि सहयोग गर्दै आएको छ । पछिल्लो सयम अप्रेसन मैत्री अन्तर्गत भारतीय सेनाले सहयोग पुर्याइरहेको छ ।
सन् २०१९ जनवरीमा नेपालमा प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको उपाधिले सम्मान गरेका थिए । त्यस समय प्रधानसेनापति थापाले अमर जवान ज्योतिमा सहिदप्रति श्रद्धाञ्जली अपर्ण गर्दै नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजको निरीक्षण गर्नुका साथै दक्षिण पश्चिम कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊमा पनि भ्रमण गरेका थिए । तीन दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।