पुस १२, काठमाण्डौ । कञ्चनपुरमा नेपाल कम्युनिष्ट पार्टीका दुई पक्षबीच हात हालाहाल भएको छ । नेकपाको जिल्ला कार्यालय महेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएपछि प्रचण्ड–नेपाल पक्षले ताला खोल्न खोजेको थियो । त्यही क्रममा भीडमा एकअर्कालाई धकेलाधकेल भएपछि विवाद भएको बुझिएको छ । प्रचण्ड नेपाल पक्षका नेता तारा तामाङले आवेशमा आएका कार्यकर्ताहरूबीच सामान्य विवाद भएको बताए । ओलीका पक्षका एक नेताले नेकपा विभाजनतिर गएपछि न्यायालयले यसबारे प्रस्ट निर्णय नदिएसम्म कुनै पनि कार्यक्रम हुन नदिने बताए । उनले तारा लामा तामाङको नेतृत्वमा ताला लाउने भन्ने सूचना पाएपछि पहिले नै आफूहरूले ताला लाउनु परेको बताए । अहिले पार्टी कार्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए ।