पुस १५, काठमाण्डौ । ५ पुसमा प्रधानमन्त्रीको सिफारिसमा भएको संसद् विघटनको विरोध तथा पुनस्र्थापनाको माग गर्दै नेकपाको प्रचण्ड–नेपाल समूहले मंगलबार देशव्यापी प्रदर्शन गरेको छ । उक्त समूहका शीर्ष नेता काठमाडौं भृकुटीमण्डपमा आयोजित विरोध कार्यक्रममा सहभागी भएका थिए भने अन्य विभिन्न तहका नेता काठमाडौंबाहिरका कार्यक्रममा सहभागी भए ।
बुटवलमा आयोजित विरोधसभामा नेकपा नेता घनश्याम भुसालले संसद् पुनस्र्थापना भएरै छाड्ने बताए । संसद् पुनर्स्थापनाकै लागि आन्दोलन सुरु भएको उनको भनाइ छ । बढीमा तीन महिनाभित्र प्रतिनिधिसभा पुनर्स्थापना हुने उनको दाबी थियो । ‘विगतमा विघटित संसद् पुनर्स्थापना भएका उदाहरण छन् । यसपटक पनि पुनस्र्थापना भएरै छाड्छ,’ उनले भने, ‘संसद् विघटन गरेर तीन करोड जनताको अधिकारमाथि आक्रमण भएको छ ।’ कार्यक्रममा नेकपाका नेताहरू वामदेव क्षत्री, हकिकुल्लाह खाँलगायतले सम्बोधन गरेका थिए । प्रधानमन्त्री केपी ओलीले संविधानमाथि नै आक्रमण गरेकाले त्यसविरुद्ध उत्रिनुपर्ने उनीहरूको भनाइ थियो ।
दैलेखमा आयोजित सभामा दैलेख क्षेत्र नम्बर २ का सांसद तथा नेकपा केन्द्रीय सदस्य राजबहादुर बुढाले कसैले सनकका भरमा प्रतिनिधिसभा विघटन नगरोस् भनेर संविधानमा बाध्यकारीबाहेकका व्यवस्था खारेज गरिएको स्मरण गरे । ‘त्यही संविधानमा सहीछाप गर्ने प्रधानमन्त्री ओली आफैँ संसद् विघटनमा लाग्नु दुःखद हो,’ उनले भने । नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रपति र प्रधानमन्त्रीले लिएको बाटोले उनीहरू सिंहदरबारबाट बाहिर निस्कन नसक्ने अवस्था आउने बताए । ‘अहिले पनि प्रधानमन्त्रीले गल्ती स्वीकार गरेर आएमा हामी स्वागत गर्न तयार छौँ । हामीले संसदीय दलबाट कारबाही गरेका छौँ, अध्यक्षबाट कारबाही गरेका छौँ, साधारण सदस्य बाँकी राखेका छौँ,’ उनले भने ।
सिराहा सदरमुकाममा आयोजित विरोधसभामा प्रतिनिधिसभा सदस्य सुरेशचन्द्र दासले दुईतिहाइ बहुमत पाएका प्रधानमन्त्रीले संसद् विघटन गरी जनतामाथि कुठाराघात गरेको बताए । देशभर जनता सडकमा उत्रिसकेकाले संसद् पुनस्र्थापनाको विकल्प नभएको नेकपाबाट प्रदेश–२ का सांसद नेता प्रमोदकुमार यादवले बताए ।नयाँ पत्रिकाबाट