साउन २६, भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औंल्याएका छन् । उनले भने, ‘स्वदेशमै केहि गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ । यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । समाजमा गौरव गर्ने कुरा धेरै छन् । केही छैन, भन्ने सोच्नु हुँदैन । आर्थिक समृद्धि र विकासमा केहि पनि भएन भन्ने होइन ।’
नेपाली कांग्रेसका नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औंं स्मृति दिवसका अवसरमा बालकोटमा आज आयोजित कार्यक्रममा महामन्त्री थापाले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताए । उनले भने, ‘देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिदैको छ, यसलाई चिर्नुपर्छ । विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनु पर्छ ।’
महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र १० करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको जानकारी दिए ।