साउन ३०, काठमाडौँ । ललिपुरको बोझेपोखरी हुँदै इमाडोल जाने महालक्ष्मीमा पनि सडक भ्वाङ परेर भासिएको छ । महालक्ष्मी नगरपालिका– ३ को बोझे पोखरीबाट इमाडोलतर्फ आउने भित्री सडक गए राति भासिएको हो ।
सडक भासिएपछि त्यो यातायात सञ्चालन गर्न रोक लगाइएको जानकारी दिंदै जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले भने, ‘सडकमा झण्डै तीन मिटरका दुईवटा खडल बनेका छन् । जसको कारण त्यो बाटो हुँदै गाडी सञ्चालन गर्न नमिल्ने अवस्था सिर्जना भएको छ ।’बर्षातको कारण सडक भासिएको प्रहरीले जनाएको छ । यही साउन २५ गते काठमाडौँ महानगरपालिका कार्यालय नजिकको सडक पनि भासिएको थियो । सडक भासिएपछि अहिले दरबारमार्गस्थित महेन्द्र शालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्डमा यातायात सञ्चालन बन्द गरिएको छ । त्यस क्षेत्रमा टुकुचा खोला छोपेर सडक बनाइएको कारण भासिएको जानकारहरुले बताएका छन् ।