मंसिर ५, काठमाडौँ । कांग्रेस–एमाले मिलेको स्थानीय तह निर्वाचनमा रुकुमपूर्वबाट नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।पुथाउत्तरगंगा गाउँपालिका–२ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट संयुक्त उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएको माओवादीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिए ।
‘नेपाली काँग्रेस र नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैले पालिकामा माओवादी निर्विरोध निर्वाचित भएको हो’, उनले भने । पुथाउत्तरगंगाको उपाध्यक्षमा पनि कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । जसअनुसार एमालेकी केशकुमारी तुलाचनले कांग्रेसको रुख चिह्नमा उम्मेदवारी दर्ता गराएकी छन् । वडाको विकास, समृद्धि र सामाजिक रुपान्तरणको काम सबै मिलेर मात्र सम्भव रहेको भन्दै जीवनले जगत पुरानो तथा सबैका अभिभावक भएको भन्दै राजीखुशी समर्थन फिर्ता लिएको विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।
वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका घर्तीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बधाई दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘रुकुम (पूर्व) पुथाउत्तरगंगा गाउँपालिका–२ को उपनिर्वाचनमा वडा अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा हाम्रो पार्टीका उम्मेदवार क. जगत घर्ती (काजु) लाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’ घर्ती निर्वाचित भएको निर्वाचन आयोगले भने आधिकारिक घोषणा गरिसकेको छैन ।