चैत १७, काठमाडौँ । ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरण गर्न विभिन्न जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरेपनि उल्लंघनको मात्रा घटेको छैन । ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्नका लागि भन्दै विभिन्न जनचेतनाका कार्यक्रमहरु गर्दै कारवाहीको काममा पनि तिव्रता दिईरहेको छ ।
पछिल्लो समय सडकमा लेन अनुशासनको पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने लगायतका विभिन्न घटनाहरु अत्याधिक हुने गरेको पाइएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार, काठमाडौँ उपत्यकामा दैनिक रुपमा १५ सय देखि १७ सयको हाराहारीमा ट्राफिक नियम उल्लंघनमा कारवाही हुने गरेका छन् । महाशाखाका प्रवक्ता जयराज सापकोटाले दैनिक १५० भन्दा बढि लेन अनुशासनमा कारवाही हुने गरेको छ । त्यस्तै मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या १५० भन्दा बढि भेटिन्छ भने फुटपाथ कारवाहीको संख्या ८०/८५ हुन्छ ।
ट्राफिक प्रहरी महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार, गत आर्थिक वर्षमा सडक नियम उल्लंघनका घटनामा ४ लाख ७२ हजार ४ सय सात कारवाही भएका थिए । यस आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांक नै हेर्ने हो भने पनि ३ लाख ५ हजार ९ सय ५३ कारवाहीको संख्या पुगेको छ । यही हिसाले हो भने यो अर्थिक वर्षमा गतवर्ष जत्तिनै कारवाहीमा पर्नसक्ने प्रवक्ता सापकोटाले बताए । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन हुन नदिन विभिन्न जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरेपनि नियम उल्लंघन र कारवाही भने जस्ताको त्यस्तै देखिन्छ ।
कस्ता कारवाही बढी ?
पछिल्लो समय ट्राफिक नियम उल्लंघन हुन नदिन र सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर कारवाही गर्ने गरिरहेको छ । ट्राफिक कारवाहीमा पर्नेहरुमा बढि मात्रामा लेन अनुशासन पालना नगर्ने तथा मादक पदार्थ सेवन गरि सवारी चलाउने भेटिन्छन् । प्रवक्ता सापकोटाले भने, ‘कति भिआईपी सवारीका चालक पर्छन्, कति कुनै कलाकारका । या अरु । तर धेरै जसो लेन अनुशासन पालना नगरेका कारण कारवाहीमा पर्छन् ।’ उनका अनुसार, पछिल्लो समय लेन अनुसाशन उल्लङ्घन गर्नेहरुको दर भयावह स्थीतीमा छ ।
चालु आर्थिक वर्षको गत फागुन मसान्तसम्ममा मात्रै लेन अनुशासन उल्लंघनका कारण २५ हजार ९ सय ८६ कारवाही भएका छन् । गत आर्थिक वर्षमा संख्या ४८ हजार ५ सय १३ कारवाही भएका थिए । महाशाखाले २०७१ देखि लेन अनुशासनमा कडाई गर्दै आएको थियो । तर पनि लेन अनुशासनमा कारवाही पर्नेको संख्या खासै घट्न सकेको देखिँदैन । प्रवक्ता सापकोटा भन्छन्, ‘सवारी चालकहरुको लापरवाही गर्ने प्रवृति घट्नै सकेको छैन, हामीले त जनचेतना जगाउने र नियम उल्लंघन हुन नदिने मात्रै हो तर नियम मान्ने त उनीहरुले नै हो नि ।’
मापसे गर्नेको स्थिती झन भयावह
महाशाखाको रेकर्डमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुको सुची पनि लामै देखिन्छ । विसं. २०६८ देखि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाहीको अभियान चलाईरहेको छ । जसमा यो वर्षको फागुन मसान्तसम्ममा प्रहरीले मादक पदार्थ सेवन गरी सवारी हाँक्ने २१ हजार दुई सय २९ जनालाई कारवाही गरेको छ । जसमा महिलाको संख्या एक सय ९ छ भने पुरुषको संख्या २० हजार ९ सय ८७ छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेमा बढि मात्रामा १९देखि २९ वर्ष समुहका देखिएको प्रवक्ता सापकोटाको भनाई छ । उनी भन्छन्, ‘युवायुवतीहरुलाई मादक पदार्थ सेवन गरेर सवारी चलाउन हुन्न भन्ने त थाहा छ तर किन उनीहरु मापसे गरेर नै सवारी चलाउँछन् त ? यो त सरासर लापरवाही नै हो नी ।’
पछिल्लो समय फुटपाथमा पार्किङ पनि उत्तिकै देखिन्छ । ट्राफिक प्रहरीले यसको लागि पनि कारवाही गर्ने गरेको छ तर पनि समस्या भने ‘ज्यूँका त्यूँ’ नै देखिन्छन् । ट्राफिक प्रहरीले दैनिक जसो ८०/८५ वटा सवारी साधनलाई फुटपाथ पार्किङका कारण कारवाही गरिरहेको हुन्छ ।
राजश्व कारवाही
ट्राफिक प्रहरीले यो वर्षको फागुन मसान्तसम्ममात्रै विभिन्न कारवाहीबाट २० करोड २१ लाख २१ हजार ५ सय रुपैयाँ राजस्व असुली गरेको छ । अघिल्लो वर्ष प्रहरीले २९ करोड ३१ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । असार मसान्तसम्ममा यो रकम बढ्न गई अझै धेरै हुने देखिएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुसँग १८ हजार ४२५ रुपैयाँ राजस्व असुली गरेको छ । अघिल्लो वर्ष यो रकम २७ हजार ८ सय १४ रुपैयाँ रहेको थियो ।
लापरबाही कि जनचेतना कमी ?
पछिल्लो समय सवारी दुर्घटना बढ्नुमा जनचेतनाको कमीका कारण नभएको प्रवक्ता सापकोटाको दावी छ । ‘लाइसेन्स लिँदा त चालक खुब ध्यान दिन्छन् नी’, उनी प्रश्न गर्छन्, लाइसेन्स निकालेपछि सडकमा चाहिँ ध्यान दिनुपर्दैन ?’
लाईसन्स निकालीसकेपछि युवाहरुमा जे गरेपनि हुने भन्ने भावनाले बढावा पाउँदा सवारी नियम उलंघन भए । उनले सडक सुरक्षा कायम गर्नका लागि महाशाखाले विभिन्न अभियान नै चलाईरहेको बताए । जनतामा चेतनाको अभाव देखिएपनि सवारी चालकहरुमा भने लापरबाही नै हावी भएको प्रवक्ता सापकोटा बताउँछन् ।