बैशाख १५, काठमाडौँ । रूपन्देहीको शुद्धोधन गाउँपालिकामा गैरदलित समुदायले विवाह भोजमा सहभागी नभई जातीय भेदभाव गरेको घटना मिलापत्र भएको छ।
दक्षिणा दिएर भोज नखाई फर्केका कथित ठूला जातिका मानिसले पीडित परिवारसँग माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता गरेपछि विवाद टुंगिएको हो।
यही वैशाख ५ गते शुद्धोधन गाउँपालिका-५ पर्साटिकरस्थित आरती विकको विवाहको निम्तो मान्न आएका राजनीतिक तथा सामाजिक अगुवाहरूले दक्षिणा दिएर भोज नखाई भेदभाव गरेका थिए।
यो समाचार सार्वजनिक भएपछि घटनामा संलग्नलाई कारबाहीको माग चर्काे रूपमा उठेको थियो।
गाउँपालिकाको न्यायिक समितिले शुक्रबार रातिसम्म दुवै पक्षलाई छलफलमा राखेर भोज नखाई फर्केका गैरदलितले माफी माग्दै अब आइन्दा यस्ता घटना हुन नदिने र आफू पनि छुवाछूतविरुद्धको अभियानमा सामेल हुने सम्झौता गरी घटनालाई मिलापत्रमा टुंग्याइएको हो।