बैशाख ३१, काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिका–३ क उनपानीका ४१ वर्षीय कुम्म थापा नेपाल खाद्य संस्थान मुगुको शाखाबाहिर चामलको भारी कसकास गर्दैछन्।
उनी यहाँसम्म चामल लिन पाँच दिन पैदल हिँडेर आएका हुन्। उनले चामल बोक्न खसीबोका पनि साथै ल्याएका छन्।
‘खसीबोकासँग यहाँ आइपुग्न पाँच दिन लाग्यो। घर फर्किंदा साता दिन लाग्छ। आउजाउमा १२ दिन’ उनी भन्छन्।
हुम्लाको सर्केगाड खाद्य डिपोमा चामल नभएकाले उनी मुगुसम्म आउनु परेको हो।
‘सर्केगाडमा चामल छैन,’ उनी भन्छन्, ‘भएको पनि पाउरवाला ठूलावडाले मात्रै लिन्छन्, हामी गरिबले सधैँ मुगुकै चामल खानुपर्छ।’
ठेकेदारले चामल ढुवानी नगर्दा हुम्लाबासीले १०–१२ दिन हिँडेर मुगुबाट ल्याएर खान्छन्। हुम्लामा ३० किलो मोटा चामलको चार हजार रुपैयाँ पर्छ।