यार्सागुम्बा टिप्न नपाउँदा गाउँ-गाउँबीच नाकाबन्दी !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ९, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

जेठ ९, काठमाडौँ । बझाङको साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन्।

साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन्।

वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ।

१० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली खेतमा त्यसरी रोक लगाइएपछि ठूलो अन्याय भएको संघर्ष समितिका संयोजक एवं साबिक मेलाबिसौना गाविसका पूर्वउपाध्यक्ष डबल जेठाराले बताए।

‘साइपाल–३ का बासिन्दाले गोप्य रूपमा वन कर्मचारीसँग मिलेर त्यस ठाउँलाई सामुदायिक वन बनाएको र हामीलाई यार्सा टिप्न नदिने निर्णय गरेकोप्रति हाम्रो आपत्ति छ,’ उनले भने।

त्यस्तो निर्णय भएको जानकारी पाएलगत्तै डिभिजन वन कार्यालय र प्रहरी प्रशासनमा उजुरी गरे पनि कसैले चासो नदिएपछि आफूहरूको मागप्रति ध्यानाकर्षण गराउन बाध्य भएर वडावासीको बैठक बसी बाटो बन्द गर्ने निर्णय गर्नुपरेको उनको भनाइ छ।

‘वर्षौंदेखि यार्सागुम्बा टिप्दै आइएको फराली खेतमा हाम्रो पनि अधिकार छ। त्यही अधिकार प्राप्त गर्न साइपाल जाने भेडा, खच्चर, भरियालगायत बटुवाहरू हिँड्ने बाटो पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका हौं,’ संयोजक जेठाराले भने, ‘दुवै गाउँपालिकाका कतिपय बासिन्दा आपसमा आफन्त छौं, बिहावारी चल्ने भएकाले दुवैतिर छोरीबुहारी छन्, त्यति गहिरो सम्बन्ध भए पनि त्यसको बेवास्ता गर्दै यार्सागुम्बामा बन्देज किन लगाइयो भन्ने हाम्रो प्रश्न हो।’

सार्वजनिक रूपमा बाटो पूर्ण रूपमा बन्द भएको सूचना टाँस गर्नुका साथै साइपाल र तलकोट दुवै गाउँपालिकालाई त्यसबारे जानकारी गराएको उनले बताए। ‘यदि कसैले हाम्रो बन्दको उल्लंघन गरे स्वयं व्यक्ति जिम्मेवार हुनेछ,’ सूचनामा भनिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस