असार ३१, काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन मनाइने गुरुपूर्णिमा आफुलाई ज्ञान दिने गुरुप्रति सम्मान गर्दै मनाइँदै छ । आषाढ शुक्लपक्षको पूर्णिमा तिथि राति १ बजेर २५ मिनेटसम्म रहनेछ ।
आफूलाई अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी उज्यालोतर्फ लैजाने गुरुको सम्मान गर्दै पूजाअर्चना तथा फूलमाला र उपहार प्रदान गरी गुरुपूर्णिमा मनाउने प्रचलन छ ।
वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण उपपुराण आदि धार्मिक ग्रन्थका रचयिता वेदव्यासको जन्मजयन्तीलाई परापूर्वकालदेखि गुरुपूर्णिमाका रुपमा मनाउने गरिएको हो ।
प्राध्यापक अम्बिका भट्टराईका अनुसार संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्नु हो । यस्तो अन्धकाररुपी अज्ञानतालाई हटाउन ज्ञान रुपी उज्यालो शिक्षा प्रदान गर्ने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर तथा परब्रह्मस्वरुप मानिन्छ ।
सनातन हिन्दू मान्यताअनुरुप माता–पिता, गायत्री–दीक्षा मन्त्र तथा सङ्गीतलगायत ६४ कला सिकाउने आचार्यलाई गुरुका रुपमा लिइने संस्कृतिविद प्राध्यापक डाक्टर जगमान गुरुङले बताए । वेदव्यासले आफ्ना छोरा शुकदेवसहित ऋषिमुनिहरुलाई वेद–वेदाङ्ग पढाएकाले व्यासलाई प्रथम गुरुका रुपमा मानिन्छ ।
द्वापरयुगको अन्त्यतिर ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रुपमा आजकै दिन व्यासको जन्म भएको थियो । चारै वेद, महाभारत, श्रीमद्भागवत, अठार पुराण तथा उपपुराणको आजकै दिनमा सम्पादन गरी आफ्ना शिष्यहरुलाई दर्शन दिएकाले आजका दिनलाई गुरुपूर्णिमाका रुपमा मनाउने परम्परा रहिआएको छ ।
यो दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रुपमा पनि लिइन्छ । गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश यही दिन दिएको बताइन्छ ।
सनातन धर्मावलम्बि र बौद्धधर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् ।
मुस्लिमको मदर्सामा पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी अथवा साना–साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाः उनीहरुले सिकाएका र दिएका ज्ञानले नै जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त हुन्छ ।