माघ ८, काठमाण्डौ । १५ जना भारतीय पर्यटक सोमबार राति साढे ९ बजे मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्ट पुगे । राति खाना खाएर सुतेका उनीहरुमध्ये एउटै कोठामा सुतेका ८ जनाको मृत्यु भयो। चिसो कोठा तताउन ग्यास बालेर सुतेका उनीहरुको अक्सिनज अभावले मृत्यु भएको प्रहरीले जनाएको छ । कोठामा सुतेका आठैजना अर्धचेत अवस्थामा फेला परेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । उनीहरुका शवका कुनै चोटपटक देखिएको छैन। पोष्ट मार्टमका लागि आठै शव फरेन्सिक विभागमा राखिएका छन् ।
विभागका वरिष्ठ चिकित्सक हरिहर वस्तीका अनुसार कमै हुने घटना हो दामनको घटना । गत मंसिर अन्तिम साता किर्तिपुर ८ सुन्दर बस्तीका नवराज रञ्जितकारले पत्नी र शिशु गुमाएका थिए । जाडोमा एउटै कोठामा ज्यान जाने घटना हरेक वर्ष दोहोरिने गरेको छ । पोष्टमार्टम गर्ने फरेन्सिक विज्ञ कोठाभित्र हुने सामुहिक निधनमा मुख्यतः दुई कारण रहने बताउँछन्–१। फुड प्वाइजनिङ हुनु २। निसास्सिनु ।
‘झ्याल, ढोका बन्द गरी कोठाभित्र हिटर बालेर वा मकल बालेर बस्छन् । तातो वातावरणमा निदाउँछन्। सधैँका लागि निदाउन पुग्छन्,’ वस्ती भन्छन् । उनका अनुसार हिटरले अक्सिजन सोस्छ। अक्सिजन अभावमा कार्बन मोनोअक्साइडलगायत विषालु ग्यासले कोठा भरिँदा निसास्सिएर ज्यान जान्छ । ‘दुर्घटनामा अन्य कारण छैन भने फुड प्वाइजनिङ वा अक्सिजन अभावले कोठाभित्र मास क्याजल्टीको घटना हुने गरेको छ,’ उनले भने । ‘विषाक्त ग्यासले शरीरलाई शिथिल बनाउँछ। सुतेको व्यक्ति बेहोस हुन्छ । हलचल गर्न नपाउँदै ज्यान जान सक्छ,’ उनले भने, ‘सतर्कता अपनाउन पाउँदैन। सुतेको सुतै ज्यान जान सक्छ ।’