चैत्र २८, सर्लाही । सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने चन्द्रनगर गाउँपालिकामा दुई दिनभित्र ४७ जना भारतबाट गाउँ आइपुगेका छन् । नेपाल–भारत दुबै देशमा लक डाउन चलिरहेको अवस्थामा त्यति धेरै सङ्ख्यामा भारतबाट स्थानीय बासिन्दा गाउँ आइपुग्दा आफूहरु अचम्मित भएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताए । त्यसरी लुकिछिपी गाउँ आएकाहरुलाई खोजी गरी धमाधम गाउँपालिकाले वडा नं। ६ स्थित कामद माध्यमिक विद्यालयमा बनाएको क्वारेन्टाइनमा ल्याएर राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष महतोले बताए ।
बिहीबारदेखि शुक्रवार दिउँसोसम्म ४७ जना गाउँ आएका सूचना पाएका छौँ, उनीहरु सबैको खोजी गरी क्वारेन्टाइनमा ल्याएर राख्ने काम भइरहेको छ, गाउँपालिका अध्यक्ष महतोले भने अहिलेसम्म क्वारेन्टाइनमा ल्याइएकाहरुको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन् । ४७ जना आएकै समूहमा अन्य पालिकाका समेत गरी १८४ जना भारतबाट आएको सूचना पाएको गाउँपालिका अध्यक्ष महतोले बताए ।