|????????????????????????????????????
जेठ २, काठमाडौं । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएको छ भने अन्तर्राष्ट्रियतर्फका विमानहरु केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन् । अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौँ आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् ।
काठमाडौँबाट पश्चिमतर्फ उडेका विमान काठमाडौँ नै डाइभर्ट भएका प्रवक्ता शेर्पाले बताए । उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् ।
श्री एयरलाइन्सको विराटनगरबाट काठमाडौँ उडेको विमान विराटनगरै फर्किएको छ । यती एयरलाइन्सको विराटनगर–काठमाडौँ उडानका दुई विमान डाइभर्ट भएका छन् । भद्रपुरबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाडौँबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौँ नै फर्किएको छ ।
त्यसैगरी काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको विमान काठमाडौँ नै फर्किएको छ । श्री एयरलाइन्सकै काठमाडौँ भैरहवा उडानको विमान पनि काठमाडौँ फर्किएको छ । सोही एयरलाइन्सको काठमाडौँबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौँ फर्किएका छन् । बुद्ध एयरको काठमाडौँ–नेपालगञ्ज उडानको विमान पनि काठमाडौँ फर्किएको छ ।
काठमाडौँमा आज अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको हो । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले अहिले काठमाडौसहित देशका केही प्रदेशमा पानी परिरहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग् सहित हल्का देखि मध्यम वर्षा भईरहेको हो । आज राति र भोलि पनि यी प्रदेशहरुमा मेघगर्जन चट्याङसहित हावाहुरी समेतको हल्कादेखि मध्यम वर्षा हुने मौसमविद विनु महर्जनले जानकारी दिइन् ।
उनले अहिले प्रि–मनसुनको समय भएकोले हावाहुरीसहितको पानी तथा चट्याङ पर्ने हुँदा दैनिक जनजिवनदेखि यात्रा तथा पर्वतारोहणपनि विषेश सर्तकता अपनाउन आग्रह गरिन् ।