जेठ २, काठमाडौं । वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै रितपूर्वक अनलाइन दरखास्त फारम प्राप्त पश्चात आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने जानकारी दिएको हो ।
आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था अबको तीन दिनभित्र कार्यान्वयनमा ल्याइने विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले जानकारी दिए । केहीदिन भित्रै आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागू गरिने उनको भनाइ छ ।
उनले रोजगार विभाग सेवाप्रवाहलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने गरी विभाग अगाडि बढिरहेको बताए । वैदेशिक रोजगार व्यवसाय गर्ने अनुमति नलिइ गरिने काम गैरकानुनी रहेको उल्लेख गर्दै उनले यस्तो गरेको पाइए कारबाहीको दायरामा ल्याइने चेतावनी समेत दिए ।
उनले सार्वजनिक सेवाको क्षेत्रमा देखिएका वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत, उद्दार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न वैदेशिक रोजगार विभाग क्रियाशिल रहेको समेत दाबी गरे ।
विभागका उपमहानिर्देशकले मूल संयोजन गर्ने गरी सम्बन्धित निर्देशकहरूको संयोजकत्वमा विभिन्न ५ वटा समितिहरू बनेका छन् । वैदेशिक रोजगारको क्षेत्रलाई समग्र रूपमा सुरक्षित व्यवस्थित र मर्यादित बनाउने साथै वैदेशिक रोजगार क्षेत्रलाई समयानुकूल तथा थप व्यवस्थित बनाउन समितिहरू गठन गरी सुधारको लागि कार्यहरू प्रारम्भ गरिएको महानिर्देशक भट्टराईले बताए ।