वैशाख ४, काठमाण्डौ । सरकारले कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि बढीभन्दा बढीको परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले परीक्षण, पहिचान र उपचारमा प्रभावकारिता ल्याउने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको बैठकले बन्दाबन्दीलाई अझ कडाइ गर्ने र निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कानुनी कारबाहीसमेत गर्ने निर्णय गरेको छ ।
उच्चस्तरीय समन्वय समितिको बैठकपछि सदस्य सचिव नारायण बिडारीले भने “सङ्क्रमणको अवस्था जोखिमयुक्त हुँदै गएकाले बढीभन्दा बढी परीक्षणमा जोड दिइने नीति लिइएको छ ।” उनका अनुसार कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिम स्थानमा निजी क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मीको सहयोगमा समेत परीक्षणलाई तीव्रता दिइनेछ ।
“कोभिड–१९ सङ्क्रमणको प्रभावकारी नियन्त्रणका लागि परीक्षण, पहिचान र उपचारमा जोड दिइनेछ,” उनले भने । दैनिक उपभोग्य वस्तुको आयात सहज बनाउँदै सुरक्षा व्यवस्थालाई कडाइ गरिने उनले बताए । लकडाउनको पूर्ण पालनाका लागि व्यक्तिको आवतजावतमा समेत कडाइ गर्दै निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानुनी कारबाहीसमेत गरिने भएको छ । बिडारीले भन्नुभयो, “आपूर्तिलाई सहज र सुरक्षालाई कडाइ गरिनेछ । समन्वयात्मक रूपमा आयात आवागमनमा अवरोध नहुने गरी भन्सार नाका सहज र सुरक्षित गराइनेछ ।”
सरकारले संयुक्त राष्ट्र सङ्घअन्तर्गत अफगानिस्तानमा कार्यरत नेपाली नागरिकलाई उपयुक्त पद्धतिबाट सङ्घकै समन्वयमा ल्याउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसङ्घकै अनुरोधमा नेपाली नागरिकलाई सरकारले ल्याउन लागेको हो । प्रधानमन्त्री कार्यालयका सचिव बिडारीले सरकारले खरिद गर्ने स्वास्थ्य सामग्री, औषधि र उपकरण चीनबाट ल्याउने विषयमा बुधबारै टुङ्गो लाग्ने जानकारी दिए ।