वैशाख ५, काठमाण्डौ । लकडाउनका बेला प्रहरी ज्यादतीका घटना बढ्दै गएका छन् । लकडाउन शुुुुरुहुँदा वाहिर निस्कनेलाई सम्झाउने गर्दै आएको प्रहरी बुधबारदेखि उग्र देखिन थालेका छन् । ज्यादतीका घटना एक्ककासी बढेको छ । बुधबार बेलुका मात्र त्रिवि शिक्षण अस्पतालका डाक्टर पिटेको प्रहरीले बिहीबार बिहानै धरानका स्वास्थ्यकर्मी पिटेको थियो । बिहीबार दिउँसो कलंकीमा अस्पताल गएर फर्किएका नागरिकमाथि लाठी वर्षायो ।
साँझ सवा ५ बजेतिर कलंकी चोक र कलंकी मन्दिर बीचमा औषधि किनेर फर्किरहेका तीन जनालाई प्रहरीले लाठी हानेको भिडिओ भाइरल भएको छ । औषधि किनेको भन्दाभन्दै प्रहरीले अभद्र व्यवहार गरेपछि उनीहरूले प्रहरीलाई तपाईंहरूले यस्तो गर्न पाउनुहुन्न भनेका थिए ।
उनीहरूले औषधि किनेको भिडियोमा नै देख्न सकिन्छ । दुई जना महिलाका साथमा रहेका एक पुरुषमाथि प्रहरीले लाठी भाँच्चिने गरी हानेका छन् । सरकारले अत्यावश्यक सेवा सुचारु हुने गरी लकडाउन घोषणा गरेको समयमा औषधि किन्न नपाउनु र औषधि बोकेका नागरिकमाथि लाठी बर्षाउनु अमानवीय व्यवहार भएको भन्दै सामाजिक सञ्जालमा प्रहरीको तीव्र आलोचना भइरहेको छ ।