वैशाख १४, काठमाडौं । नेपालमा कोरोना भाइरस कोभिड १९ जित्नेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ५१ जनामा संक्रमण देखिएकोमा १६ जनाले कोरोना जितेका हुन् । पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन् । पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको छ । जसमध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको छ । वीरगन्जमा आइतबार थप २ जनामा कोरोना भाइरस कोभिड १९ पुष्टि भएको हो । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार आइतबारसम्म १६ जनाले कोरोनालाई जितेका छन् । ८१ वर्षीया वृद्धदेखि १९ वर्षीय युवतीसम्मले कोरोना जितेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार वीरगञ्जमा उपचार गराइरहेका पाँचमध्ये आइतबार चारजना डिस्चार्ज भएका छन् । रौतहटका एक १९ वर्षीय पुरुषसहित अन्य तीन पुरुषको आइतबार नारायणी अस्पतालबाट डिस्चार्ज भएको हो । शनिबार चितवनमा उपचार गराइरहेका २७ वर्षीय युवाको डिस्चार्ज भएको थियो । उनले आठ दिनमै कोरोनालाई जितेका थिए । अन्य ११ जनाको यसअघि नै डिस्चार्ज भइसकेको थियो ।
मन्त्रालयका अनुसार अहिले अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ । अन्य संक्रमितमध्ये तीन जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ । प्रवक्ता देवकोटाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
अहिलेसम्म क्वारेन्टाइनमा १७ हजार बढी छन् । उपत्यकामा ६ र बाहिर १०४ गरेर देशभर ११० जनाको आइसोलेसनमा उपचार भइराखेको छ । शुक्रबार मात्र झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो । आरडीटी विधिमा परिवारका चार जनामा पोजिटिभ देखिए पनि पीसीआर विधिबाट एकजनामा मात्र पोजिटिभ देखिएको हो । संक्रमित पुरुषका छोरा चैत ४ गते विदेशबाट आएको खुलेको छ ।