वैशाख २१, वीरगन्ज । कोरोनाको उपचारपछि निको भएर घर पठाइएका रौतहटका एक युवकलाई ७ दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको छ । कोभिड–१९ संक्रमण पुष्टि भएपछि रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय बच्चा अन्सारीलाई बैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
नारायणी अस्पतालको आइशोलेनशमा १२ दिनसम्म राखिएका अन्सारीको पीसीआर परीक्षणको तेश्रो , चौथो र पाचौँ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले बैशाख १४ गते उनलाई डिस्जार्च गरी घर पठाएको थियो । तर घर पठाएको एक हप्ता नबित्दै उनलाई शनिबार राति फेरि रौतहटस्थित घरबाट अस्पतालमा ल्याइ आइशोलेशन वार्डमा राखिएको छ ।
अस्पताल श्रोतका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा फेरि क्रस चेक गर्दा अन्सारीको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालका स्वास्थ्यकर्मीले गत बुधबार उनको घरमै पुगेर स्वाब संकलन गरी काठमाडौं पठाएका थिए । बुधबार पठाइएको स्वाबको रिपोर्ट पनि पोजेटिभ आएपछि अन्सारीलाई शनिबार राति अस्पतालमा ल्याइएको हो । बैशाख १४ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पठाएको अन्सारीसँगै चार जनाको पीसीआर रिपोर्टमा त्रुटी फेला परेको श्रोतले जानकारी दिएको छ ।