वैशाख २२, काठमाडौँ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको सोमबार बसेको बैठकले काठमाडौँ उपत्यकामा लकडाउन खुकुलो नपार्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको छ । देशका सबै जिल्लाहरुलाई जोखिमपूर्ण, कम जोखिमपूर्ण र न्यून जोखिमपूर्ण गरी तीन भागमा वर्गीकरण गर्ने र भारतसँग सीमा जोडिएका तथा कोरोना भाइरस संक्रमण देखिएका जिल्लाहरुलाई जोखिमपूर्ण भागमा राख्ने निर्णय भएअनुसार काठमाडौँमा लकडाउन खुकुलो नपारिने निर्णय भएको हो ।
भारतसँग सीमा जोडिएका र तराईका जिल्लाहरुमा पनि लकडाउन पूर्वरुप रुपमै कायम राख्न पनि समितिले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । पहाडी तथा हिमाली जिल्लाहरुमा भने लकडाउन खुकुलो पारिने र आन्तरिक आवागमन सुचारु गर्न पनि समितिले प्रस्ताव गरेको छ । मंगलबारको मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।