चुनौतीपूर्ण मानिएको ३७३ मिटरको भर्टिकल पाइप राख्न सफल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ १२, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १२, चरिकोट । दोलखाको विगु गाउँपालिका –१ स्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कोरोना भाइरसको प्रकोपले खासै प्रभाव परेको छैन । बाँधलगायत हेड वर्क्सको प्राविधिक परीक्षण गरिसकेका माथिल्लो तामाकोशी आयोजनाको काममा अहिलेसम्म कोरोना भाइरसको प्रकोपले खासै प्रभाव पारेको छैन । त्यहाँ भाइरसबाट बच्ने उच्च सतर्कता र सावधानी अपनाएर काम भइरहेको छ ।

यसैबिच, आयोजनाकै निकै महत्वपूर्ण र जटिल मानिएको ३७३ मिटरको तल्लो भर्टिकल साफ्टमा पेनस्टक पाइप राख्ने काम हालै सम्पन्न भएको छ । अष्ट्रियन कम्पनी एन्ड्रिजले शनिबार बिहान ४ बजे अन्तिम डेढ मिटरको पेनस्टक पाइप भर्टिकल साफ्टमा झारेसँगै तल्लो भर्टिकल साफ्टको काम सम्पन्न भएको आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले जानकारी दिए । उनका अनुसार तल्लो भर्टिकल साफ्टमा ७३ वटा पाँच मिटरको पाइप र अन्तिममा डेढ मिटरको पेनस्टक पाइप जडान गरिएको छ । योसँगै तामाकोशी आयोजनाको उत्पादन मिति नजिकिएको छ ।

त्यसैगरी, भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले ३१० मिटरको माथिल्लो भर्टिकल साफ्टमा २४६ मिटर पेनस्टक पाइप जडान गरिसकेको छ भने बाँकी रहेको ६४ मिटर पाइप जडान असारको पहिलो हप्तामा सकिने गरी काम भैरहेको प्रवक्ता डा न्यौपानेले बताए ।

सबैभन्दा कठिन मानिएको यी सुरुङहरूमा पेनस्टक पाइप राख्ने कामले गति लिन नसक्दा तामाकोशी आयोजनाको उत्पादन मिति समेत पटकपटक पछि धकेलिएको थियो । करिब पाँच महिनाको प्रयासपछि २०७६ साल असार १ गते तल्लो र असार १० गते माथिल्लो भर्टिकल साफ्टमा पहिलो पेनस्टक पाइप जडान गर्न आयोजना सफल भएको थियो । पाँच मिटर लम्बाइ र २७ टन तौल सम्मका पेनस्टक पाइपलाई ३५ टन क्षमता भएको ग्रेन्टी क्रेनबाट भर्टिकल साफ्टमा राखेर जडान गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस