सन्तोष सुवेदी
जेठ १४, धुनिवेशी । नौबिसे–नागढुङ्गा सडकको उत्तम बिकल्पको रुपमा रहेको अहिलेको तत्कालिन सडक हो धार्के– सितापाईला । यो अहिलेको निर्माणको चरणमा रहेको छ । बिगत लामो समय चर्चाको शिखर पुगेको यो सडक स्तरोन्नतिको काम भने बेला बेलामा हुने गरेको छ । नौबिसे–नागढुङ्गा सडकखण्डमा जव घण्टौ जाममा बस्नुपर्ने बाध्यता आउँछ तव यो धार्के–सितापाईला सडकखण्डको चर्चा उत्कर्षमा पुग्ने गरेको छ । धुनिबेशी नगरपालिकाको धार्केबाट सुरु भएको यो सडकखण्ड २५ किलोमिटरबाट भित्र पुगेपछि काठमाण्डौको नागार्जुन नगरपालिका तथा सितापाईला आउँछ । अहिले बाटो निकै स्तरोन्नति भएको छ । केहि दिन अगाडीबाट धार्के–सितापाईला सडकखण्डको ग्रावेल गर्ने कामको सुरुवात भएको छ । संघिय राजधानी काठमाण्डौ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा पछिको उत्तम बिकल्पको रुपमा रहेको धार्के–सितापाईला सडक जम्मा १३ किलोमिटर मात्र अहिले ग्रावेलको काम हुने दिब्य ज्योती कस्टक्सनका शिवराम भण्डारीले बताए ।
धार्के–सितापाइला सडक खण्डको महेशखोला पुल देखि ठूलोखोला सम्म १३ किलोमिटर सडकमा ग्राभेल हाल्न र रोलर लगाउने काम सुरु भएको उनको भनाई छ । नेपाल सरकारको १४ करोड बजेटबाट उक्त सडक खण्डमा ग्राभेल राखेर रोलर लगाउने काम थालिएको धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताएका छन् । दिब्य ज्योती कन्ट्रक्सनबाट उक्त सडकमा ग्राभेल गर्ने, कच्ची नाला बनाउने र रोलर लगाएर थिच्ने काम भईरहेको समेत प्रमुख आचार्यले बताएका छन् ।
नौबिसे–नागढुङगा सडक खण्डभन्दा यो धार्के–सितापाईला बैकल्पीक राजमार्ग काठमाण्डौं प्रबेश गर्ने छोटो सडक भए पनि बिगतका वर्षहरुमा यस क्षेत्रका नागरिकले बर्षाको समयमा धेरै सास्ती पाउने गरेका थिए । अबको ग्रावेलपछिको अबस्थामा भने सडकमा बाह्रै महिना सवारी साधन सञ्चालन गर्न सकिने गरि काम भैरहेको निर्माण कम्पनीको दावी छ । धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य भन्छन्–‘यो केन्द्र सरकारकै ठेक्कामा भएको ग्राभेल हो । हामिले धार्के–सितापाईला सडकलाई चाँडै व्यवस्थित कालोपत्रे गर्नुपर्यो भनेर माग उठाउँदै आएका छौँ ।’ लामो समय यो सडकको काम राकिएका कारण हामीले अगुवाई गर्दै सडकलाई बाह्रै महिना सवारी साधन चलाउन सकिने बनाउन पहल गरेका छौँ ।’ उनले थपे–‘यसमा केन्द्र,प्रदेश स्तरका जनप्रतिनिधिीले पनि सहयोग गर्नुभयो । पुर्वमन्त्री राजेन्द्र पाण्डेले पटक–पटक यस विषयमा वार्ता तथा बैठक गर्नुभएको हो । अब यो बाटो राष्ट्रिय राजमार्गको रुपमा अघि बढेकोले सरकारले प्राथामिकतामा राख्ने मेरो विश्वास छ ।’
आचार्यले धार्के–सितापाईला सडक राजधानी भित्रने महत्वपुर्ण बैकल्पिक मार्ग भएकोले राज्यले यो सडकलाई मुख्य प्राथामिकतामा राख्नुपर्ने बताए । अब पनि कुनै बहानामा धार्के–सितापाईला सडकलाई पछि धकेल्ने प्रयास गरिए सबै जनता मिलेर दवाव सिर्जना गर्नुपर्ने उनको भनाई छ ।’ अनलाईनकेन्द्रसँगको कुराकानीमा प्रमुख आचार्यले भने,– ‘भोली जेठ १५ गते सरकारले बजेट ल्याउदैछ । यो धार्के–सितापाईला सडकलाई पनि कालोपत्रे गर्नको लागि आवश्यक बजेट छुट्टिन्छ भन्ने मेरो विश्वास छ । यस विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेँललाई पनि मैले पटक–पटक अनुरोध गरेको छु ।’
धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले यस्ता कुरा बताईरहँदा सडक उपभोक्ता भने छिट्टै यो सडक स्तरोन्नति हुन्छ भन्ने पक्षमा छैनन् । पटक–पटक कुरा उठेको, कामै सुरु भए पनि अहिलेसम्म पूर्ण रुपले काम नभएको भन्दै स्थानियमा बिश्वास घट्दै गएको छ । राजधानी भित्रीने महत्वपुर्ण सडक हुँदा हुँदै समयमा निर्माण पुरा हुनेमा स्थानिय आशँका पोख्छन् ।
नौबिसे–कलंकी सडकखण्डमा हुने सवारी चाप र विग्रिएको सवारी साधनको कारण घन्टौंसम्म हुने सडक जामलाई व्यवस्थित गर्न र सहज सवारी आवागमनका लागि सरकारले धार्के–सितापाईला सडकखन्ड निर्माण गरी सवारी चलाउने बताएको थियो । अहिले यसैअनुसार काम भईरहेका छन् । ‘आश्वासनभन्दा पनि अब निर्माण सम्पन्न गरेरै मोटर बाह्रै महिना गुडेको हेर्ने रह छ भन्छन्,’ धुनिबेशी ४ का स्थानिय सबिन रेग्मी ।