जेठ १७,काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका काममा कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने अनिवार्य मापदण्ड तयार पारेको छ ।
प्राधिकरणले तयार पारेको मापदण्डलाई कार्यकारी समितिको बैठकले स्वीकृत गरेसँगै पालना गर्नुपर्ने भएको छ । मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदा लगायतका क्षेत्रमा बाँकी रहेका पुनर्निर्माणका काम गर्दा उच्च सर्तकता अपनाउनुपर्ने उल्लेख छ ।
साथै कार्यस्थल व्यवस्थापन, सामग्री आपूर्ति, जनशक्तिको कार्य व्यवस्थापन, स्थानीय प्रशासन, पालिका र अन्य सरोकारवाला पक्षको भूमिकालाई पनि समेटिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मापदण्ड तयार भएकाले अब पुनर्निर्माणका कामहरु अघि बढाउन सहज हुने बताए ।
मापदण्ड अनुसार पुनर्निर्माणका काम गर्दा सम्बन्धित निर्माण व्यवसायी वा उपभोक्ता समितिले उपलब्ध भएसम्म कार्यस्थल रहेको बस्ती र वडा, पालिका या जिल्लाभित्रकै जनशक्ति प्रयोग गर्नुपर्नेछ । सम्बन्धित पालिका भन्दा बाहिरका जनशक्ति परिचालन गर्दा भने वडा कार्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।
कामदारलाई काममा लिनु अघि स्थानीय स्तरमा उपलब्ध भएको स्वास्थ्य परीक्षणबाट कोरोना भाइरसको लक्षण नभएको कुरा एकीन गर्ने, परीक्षणको विवरण राख्ने, कामदारलाई कार्यस्थल वा कार्यस्थल नजिक अस्थायी बसोबासको व्यवस्था गर्नुपर्नेछ । कामदारहरु सुपरिवेक्षकको अनुमतिबिना कार्यस्थलबाट अन्यत्र आफूखुशी हिंडडुल गर्न नपाउने लगायतका व्यवस्था गरिएको छ ।