जेठ २३, काठमाण्डौ । विश्वभरका ३२ लाख भन्दा धेरैले कारोना भाइरसलाई जितेका छन् । अहिलेसम्म ३ लाख ९३ हजार भन्दा धेरैको भने कोरोना संक्रमणबाट मृत्यु भएको छ । वर्ल्डओमिटरका अनुसार शुक्रबार बिहान ६ बजेसम्म विश्वभर गरेर ३२ लाख २८ हजार ६ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् । अहिलेसम्म ३ लाख ९२ हजार १ सय २५ जनाले भने संक्रमणको कारण ज्यान गुमाएका छन् ।
विश्वभरका अहिलेसम्म ६६ लाख ८९ हजार ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये अहिले ३० लाख ६८ हजार २ सय ७३ जना उपचारको क्रममा छन् । उपचारको क्रममा रहेका धेरैको अवस्था सामान्य छ । उपचारको क्रममा रहेका ५५ हजार ३ सय ७८ जनाको अवस्था मात्रै गम्भीर रहेको वल्र्डओमिटरले जनाएको छ । गएको २४ घण्टामा विश्वभर गरेर ५ हजार ३ सय ३८ जनाले संक्रमणको कारण ज्यान गुमाएका छन् । यस अवधिमा सबैभन्दा धेरै ब्राजिलमा १ हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन् ।
मेक्सिकोमा १ हजार ९२ जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा १ हजार ३१ जनाको मृत्यु भएको छ । बिहीबार भारतमा २ सय ७५ जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म संक्रमणबाट ६ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म २ लाख २६ हजार ७ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।
बिहीबार मात्रै त्यहाँ ९ हजार ८ सय ८९ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १ लाख ८ हजार ४ सय ५० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ । बाँकी संक्रमितको अवस्था सामान्य रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।