जेठ २६, काठमाण्डौ । विस्फोटक पदार्थ खरिद गर्न नेपाली सेनाले अड्को थाप्दा नागढुंगा सुरुङमार्ग निर्माण कार्य प्रभावित भएको छ । सुनाचुरी इमल्सन प्लान्टबाट उत्पादित इमल्सन विस्फोटक पदार्थ प्रयोग गरी सुरुङमार्ग निर्माण गर्नुपर्ने सर्त सेनाले राखेको छ । निर्माण कम्पनी जापानको हाजमा आन्दो कर्पोरेसनले भने उक्त सर्त स्वीकार गरेको छैन ।
सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले निर्माण कम्पनीले नेपाली सेनाबाट उत्पादित विस्फोटक पदार्थ प्रयोग गर्ने इच्छा नदेखाउँदा सुरुङमार्ग निर्माणमा ढिलाइ भइरहेको बताए । उनका अनुसार निर्माण कम्पनी भने गुणस्तर परीक्षण प्रमाणपत्र पेस गरिए प्रयोग गर्न सकिने अडानमा छ । सेनाले भने प्रमाणपत्र पेस गर्न ध्यान दिएको छैन । सेनाले इमल्सन विस्फोटक पदार्थ आयात गर्न सहमति प्रदान नगरी आफ्नै उत्पादन बिक्री गर्न खोजिरहेको छ । कुनै पनि आयोजनाका लागि विस्फोटक आयात गर्न सेनाको स्वीकृति अनिवार्य छ ।
सेनाले सुनाचुरी प्लान्टबाट इमल्सन विस्फोटक उत्पादन गर्दै आएको छ। विस्फोटक पदार्थ खरिदका क्रममा विवाद निम्तिने सम्भावनालाई ध्यान दिई फागुन २८ गते सेनाबाट उत्पादित विस्फोटकको क्षमता गुणस्तर र स्वास्थ्यसम्बन्धी प्रभाव जाँच गर्ने सहमति भएको थियो । त्यस क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सेनाका महारथी, मन्त्रालयका सचिवलगायत उपस्थित थिए । मन्त्रालयका सचिवको नेतृत्वमा सडक विभाग प्रमुख र निर्माण कम्पनीको आयोजना निर्देशकबीच फागुन २९ गते सेनाबाट उत्पादित विस्फोटक परीक्षण गर्न भए पनि सुरुङमार्गमा प्रयोग गर्ने तय भएको थियो ।