आरडीटी परिक्षण गरेर घर पठाइएका धादिङका २४ जनामा कोरोना संक्रमण पुष्टि

Post Thumbnail

जेठ ३२,धादिङ । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) गरेर घर पठाइएका धादिङका २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरू सबै नीलकण्ठ नगरपालिकाका हुन् ।

नगरपालिकाले भारतबाट आएर भैरहवामा अलपत्र परेका ६८ जना नगरवासीलाई गत जेठ १० गते एउटै बसमा ल्याएर धादिङबेंसीस्थित बालमन्दिर क्वारेन्टिनमा राखेको थियो । र, जेठ १८ गते आरडीटी परीक्षण गरेर घर पठाइएको थियो ।

भारतबाट जेठ १४ गते १८ जना र १६ गते थप १० जना आएका थिए, उनीहरुको भने थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षणका लागि पठाइयो । उनीहरूमध्ये १६ जनामा कोरोना संक्रमण पुष्टि भएको खबर २५ गते आयो ।

एउटै क्वारेन्टिनमा बसेका १६ जनामासंक्रमण पुष्टि भएपछि नगरपालिकाले आरडीटी गराएर घर पठाइहरुको खोजी थाल्यो । र, स्वाब संकलन गरेर टेस्टका लागि पठायो ।

पीसीआर टेस्टका लागि किट अभाव भएपछि आडीटी गरेर पठाएको तर उनीहरूमा नै संक्रमण पुष्टि भएको नगरप्रमुख भीम ढुंगानाले बताए । ‘त्यतिबेला पीसीआर टेस्टका किटको अभाव थियो । त्यसैले आरडीटी गरेर पठाएका थियौं’ उनले भने, ‘किट आएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा संक्रमण भेटिएको छ ।’

७५ जनाको स्वाब संकलन गरेर पठाउँदा २४ जनामा कोरोना सक्रमण पुष्टि भएको नगरका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद रिजालले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा वडा नं ७ र १४ का ७र७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का एक जना छन् ।

नगरपालिकाले थप ८१ वटा स्वाब संकलन गरेर पठाएको छ तर, रिपोर्ट आउन बाँकी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस