असार ९, काठमाण्डौ । लकडाउन सुरु भएपछि बन्द रहेका उपत्यकाका ट्राफिक लाइट सञ्चालन हुन थालेको छ । सवारी संख्या बढेसँगै विभिन्न ११ चोकमा ट्राफिक लाइट संचालनमा आएको हो । जोरबिजोर प्रणाली लागू भएपछि उपत्यकामा सवारीको चाप बढेसँगै लाइट संचालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार पद्मोदय १, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, सिंहदरबार, गौशाला चोकका ट्राफिक लाइट सञ्चालनमा आएको छ । त्यस्तै पुतलिसडक, पद्मोदय २, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाइट अब सञ्चालनमा आउने ढकालले जानकारी दिए । ट्राफिक नियमको पालना गर्न उनले सबैलाई आग्रह गरे। महाशाखाका अनुसार अन्य स्थानहरूमा पनि ट्राफिक लाइट जडान गर्न पहल भइरहेको छ । विगत नौ वर्षदेखि बिग्रेर रहेका १८ स्थानका ट्राफिक बत्ती हालै सञ्चालनमा ल्याइएको थियो ।