भाद्र १४, नुवाकोट । गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी– रसुवागढी सडक आयोजनाअन्तर्गत गेर्खु बेत्रावती सडकखण्डमा रहेका जग्गादाताले अब मुआब्जा पाउने भएका छन् । सांसद नारायणप्रसाद खतिवडाले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी गेर्खु बेत्रावती सडकखण्डका जग्गादाताले मुआब्जा पाउने जानकारी दिए । उनले यही भदौ ८ गते स्थानीय, प्रदेश, सङ्घीय सरकारका प्रतिनिधि, सोही आयोजनाका प्रमुख सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहभागि बैठकले मुआब्जा वितरण गर्ने निर्णय गरेको बताए ।
सांसद खतिवडाले प्रभावित जग्गाधनीका जग्गाको सडक केन्द्रबाट १५÷१५ मिटर दायँबायाँ ३० मिटर मध्येबाट कालोपत्र सडकको ४।५ मिटर कटाएर २५ मिटरको जिल्ला स्तरीय मुआब्जा निर्धारण समितिले तोकेको दररेटमा मुआब्जा उपलब्ध गराउनका लागि आयोजनालाई निर्देशनसमेत दिएको जानकारी दिए । यसैगरी वाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेले साबिक कायम भएको सडक सरकारको भएको तर मुआब्जा दिएको प्रमाण नदेखिएकाले जिल्लाका स्थानीय, प्रदेश, सङ्घीय सरकारका प्रतिनिधिहरुले संयुक्तरुपमा मुआब्जा दिनुपर्ने माग राख्दै आएका बताए । प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले मुआब्जाकै सम्बन्धमा गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी–रसुवागढी सडक आयोजनाअन्तर्गत पीपलटारदेखि ढुङ्गेसम्म १५÷१५ किमी र ढुङ्गेदेखि बेत्रावतीसम्म १०÷१० किमी सडकखण्डमा २०३१ सालको सडक ऐनले सडक सीमा तोकेको र सोही सडक सीमाभित्र रहेको जग्गाको मुआब्जा दिन नमिल्ने भनी सडक विभागमा निर्णय भएको बताए । सोही निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट परेको र अदालतले जग्गादतालाई मुआब्जा वितरण गर्न आदेश दिएको जानकारी दिए ।
गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रूबेँसी–रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले सर्वोच्च अदालतको आदेश र स्थानीय , प्रदेश, सङ्घीय सरकारका प्रतिनिधिहरु तथा जिल्ला प्रशासन कार्यलयको पहल र समन्वयमा भएको निर्णयको पालना गर्दै गेर्खु बेत्रावती सडकखण्डमा रहेको जग्गादाताहरुलाई मुआब्जा दिने आदेश रहेको बताए ।