भाद्र १९,काठमाडौँ । निर्धारित समयमा पुनःनिर्माणको काम नसकिने भएपछि ऐतिहासिक धरहरा पुनःनिर्माणको लागि समय थप गरिने भएको छ । पूर्व निर्धारण गरेको समयानुसार आगामी असोज तेस्रो सातासम्ममा काम सम्पन्न गर्नुपर्छ । हालसम्मा ४१ दशमलब ५ प्रतिशत मात्र काम भएकाले अब तोकिएकै समयमा काम सम्पन्न हुने अवस्था नभएकाले समय थप गर्न लागिएको हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार निर्माण कम्पनीले एक वर्षको लागि समय माग गरेको छ । तर कति थप्ने भन्ने विषय छलफल भइरहेकाले एकिन भएको छैन । कम्पनीकै माग र आवश्यकता अनुरुप समय थप गरिन्छ ।
निर्माणको क्रममा अहिलेसम्मा १३ तलाको काम सम्पन्न भएको छ भने १४ तलाको काम भइरहेको छ । निर्माणका लागि हालसम्मा रु एक अर्ब १३ करोड सकिएको पनि मानन्धरले जानकारी दिए । नेपाली र केही भारतीय नागरिकसहित दैनिक १५० कामदार नियमितरूपमा निर्माणका लागि खटिएका भए पनि कारोना भाइरसका कारण कहिले निर्माण सामग्री त कहीले कामदारको अभाव भएपछि निर्माणको काम तोकिएको समय भन्दा पर धकोलिएको हो ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुनःनिमार्णको काम तीन वर्ष बितेपछि अघि बढेको हो । दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले धरहराको पुनःनिर्माण शुरु गरेको थियो । निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ ।
ऐतिहासिक धरहरा पुनःनिर्माणका लागि अघिल्लो पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सो अवसरमा उनले धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण गर्नुपर्ने बताएका थिए ।