असोज २३, काठमाडौं । निर्माणाधिन धरहराको निर्माण अवधि ९ महिना थप गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो ।
कोभिड १९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको छ ।
रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई। श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताए । अहिलेसम्म धरहराको १६ तल्ला ढलान भइसकेको जानकारी पनि श्रेष्ठले दिए ।