मंसिर ७, काठमाण्डौ । बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग खन्ने काम पुसदेखि थालिने भएको छ । २४ कात्तिकदेखि सुरुङ खन्ने योजना भए पनि आवश्यक स्टिलको पोर्टल फ्रेम आइपुग्न ढिला भएकाले काम पछाडि धकेलिएको नागढुंगा सुरुङमार्गका निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले बताए । उनले भने, ‘सुरुङ खन्न थाल्नुपूर्व ढोकाको चौकोस आकारका फ्रेम राख्नुपर्छ । त्यसपछि मात्र निर्माण थालिन्छ ।’ पोर्टल फ्रेम अर्डर दिएको कम्पनीका कर्मचारी कोरोना संक्रमित हुँदा ढिलाइ भएको उनको भनाइ छ । ‘अझै १० दिन ढिलाइ हुने जानकारी पाएका छौँ,’ उनले भने । त्यसपछि निर्माणस्थलमा ल्याएर जोड्न अर्को १० दिन लाग्नेछ । त्यसपछि मात्र सुरुङ खन्ने काम थालिनेछ । ‘ढिलोमा पनि पुसदेखि सुरुङ खन्ने काम सुरु हुनेछ,’ निमित्त प्रमुख शाक्यले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बलम्बुबाट थालनी भई धादिङको सिस्ने खोलामा निस्किने सुरुङमार्गको शिलान्यास गरेको वर्ष दिन पूरा भएको छ । सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो आयोजनामा तीन लेनको सुरुङमार्ग हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलव ४५ किमि हुनेछ ।
सुरुङ खन्नेबाहेकका काम धमाधम
आयोजना कार्यालयका अनुसार अहिले सुरुङ खन्नेबाहेकका काम धमाधम भइरहेका छन् । विशेष गरी सुरुङ खन्नुपूर्व गर्नुपर्ने कामलाई गति दिएको छ । अहिले सुरुङमार्गसम्मको साढे २ किलोमिटर पहुँच मार्ग निर्माण, सर्भिस सेन्टर निर्माण, स्लोप कटिङ र अन्य काम भइरहेको निमित्त आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए । अहिले आयोजनास्थलमा २ सय ५० कामदार परिचालन गरिएको छ । जापानदेखि २५ जना सुरुङ निर्माणमा दक्ष कामदार आएका छन् ।
आयोजना सम्पन्न गर्ने अवधि अब ३० महिना मात्र
आयोजना निर्माण कम्पनी जापानको हाज्मा आन्दो कर्पोरेसनसँग ६ असोज ०७६ मा निर्माण थालिएको ४२ महिनामा सम्पन्न गर्ने सम्झौता भएको छ । सोहीअनुसार ५ कात्तिक ०७६ मा उद्घाटन भएको थियो । ‘१२ महिना बितिसक्दा पनि अहिलेसम्म कार्ययोजनामा कुनै परिवर्तन भएको छैन । यसअनुसार अबको ३० महिनामा आयोजना सम्पन्न हुन्छ,’ निमित्त प्रमुख शाक्यले भने । कोभिडले गर्दा केही समय थप गर्नुपर्ने भनेर निर्माण कम्पनीले माग भने गरेको छ । तर, आयोजना कार्यालयले भने अझै पनि काम तोकिएकै समयमा सम्पन्न गर्न सकिने भएकाले थप गर्ने सम्भावना नरहेको जानकारी दिएको छ । तोकिएको समयभन्दा झन्डै दुई वर्ष ढिलो गरी भएको ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ मा सम्पन्न हुनेछ । यसअघि सन् २०१६ मा सहुलियत दरमा जापानसँग ऋण सम्झौता हुँदा २०१८ मध्यदेखि नै निर्माण थालेर २०२१ भित्र काम सम्पन्न गर्ने लक्ष्य थियो । तर, खरिद सम्झौताका विभिन्न प्रक्रिया, जग्गाप्राप्ति र अन्य कारणले ढिलाइ हुँदा ठेक्का सम्झौता नै सन् २०१९ को अन्तिममा भएको थियो ।
कोभिडको ढिलाइले लागत थोरै बढ्ने सम्भावना
कोभिडका कारण आयोजना लागत थोरै बढ्ने सम्भावना छ । जग्गा प्राप्तिसमेत गरेर अहिलेसम्म आयोजनाको लागत २२ अर्ब रुपैयाँ छ । जग्गा प्राप्तिबाहेक सुरुङमार्गको लागत रकम १६ अर्ब ६९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ । निर्माणमा लाग्ने सबै रकम जापानी सहुलियत ऋण हो । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने शून्य दशमलव ०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ । ३० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्नेछ । त्यस्तै, नेपाल सरकारले ५ अर्ब ५० करोड रुपैयाँ मुआब्जामा खर्च गरिसकेको छ ।
सुरुङसँगै दुई फ्लाई ओभर निर्माण हुने
सुरुङमार्गकै अंग रहने गरी दुईवटा फ्लाई ओभर पनि निर्माण हुनेछन् । नेपालमा फ्लाई ओभर पहिलोपटक निर्माण हुन लागेको हो । दुई फ्लाई ओभरमध्ये एउटा अहिलेको सडक ट्राफिकलाई अवरोध नपुगोस् भनेर कलंकी–नागढुंगा सडकखण्डको बलम्बुमा निर्माण गरिनेछ । यसले त्रिभुवन राजपथमा सवारी आवत–जावतलाई सुचारु गर्नेछ । अर्को फ्लाई ओभर भने नागढुंगा जोड्ने स्थानीय सडकमा रहनेछ । यसले पनि सडक ट्राफिक सहज बनाउन भूमिका खेल्नेछ ।