पुस २०, काठमाण्डौ । नागढुंगा सुरूङ मार्ग निर्माणमा स्थानीय बासिन्दाले अवरोध गर्ने चेतावनी दिएका छन् । आयोजनाको परामर्शदाता कार्यालय परिसरमा प्रदर्शन गर्दै उनीहरूले दुई दिनभित्र आफ्ना माग पूरा नभए निर्माण काम रोकिदिने चेतावनी दिएका हुन् । विभिन्न पाँच बुँदामा माग राख्दै चन्द्रागिरि नगरपालिका वडा नम्बर-२ का अध्यक्ष गोपी सुर्खेतीको नेतृत्वमा उक्त चेतावनी दिइएको हो ।
आयोजनाले निर्माणको काममा भएको क्षतिको तत्काल पुनर्निर्माण गर्नुपर्ने, परापूर्वकालदेखि प्राकृतिक रूपमा संरक्षण गरिएका खानेपानी निःशुल्क उपभोग गर्दै आएकोमा आयोजना निर्माण पश्चात पनि निःशुल्क हुनुपर्ने माग स्थानीयहरूले गरेका छन् । त्यस्तै उनीहरूले आफूलाई रोजगारी दिनुपर्ने, विशेष प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने र त्यस्तो क्षेत्रमा फुटबल मैदान बनाइदिनुपर्ने, सडक मार्ग निर्माण गरिदिनुपर्ने माग गरेका छन् । सुरूङ मार्ग निर्माण गर्दा सबभन्दा धेरै प्रभावित हुने ३ र ५ नम्बर वडा भए पनि पछिल्लो समय २ नम्बर वडाका स्थानीयले अवरोध गरेका छन् । आयोजना स्रोतका अनुसार अहिले निर्माणको काम सुरु भएपछि माग लिएर आउने पुष्पकमल दाहाल–माधव नेपाल समूहका व्यक्ति रहेको बताइएको छ । ‘सुरुङ निर्माण थाल्नुअघि स्थानीयले यस्ता माग ल्याएका थिएनन्,’ आयोजना स्रोतले भन्यो, ‘जब नेकपा विभाजन भयो, तब स्थानीयले बखेडा झिक्न थालेका छन् ।’