पुस २२,काठमाडौँ । सरकारले बुधवार निर्धारण गरेको उखुको समर्थन मूल्य किसानको पक्षमा नभएको सर्लाहीका उखु किसानले गुनासो गरेका छन् ।
सरकारले यस क्रसिङ सिजनका लागि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ९० रुपैयाँ कायम गरेको छ । बुधवार निर्धारण गरेको उखुको मूल्य किसानको पक्षमा नभएर उद्योग र व्यापारीको पक्षमा भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।
मैनालीले भने–‘सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्य उखु किसानको पक्षमा छैन, सरकारले चुनावलाई लक्षित गर्दै उखुको मूल्य निर्धारण गरेको छ। चुनावमा उद्योगसँग चन्दा लिनुपर्ने आधार बनाएर सरकारले उद्योगी र व्यापारीमुखी मूल्य निर्धारण गर्यो ।’ उनका अनुसार यस वर्ष उखुको न्यूनतम समर्थन मूल्य ६ सय ३० देखि ६ सय ४० रुपैयाँसम्म हुने कुरो थियो । अहिले तोकेको मूल्यले किसानलाई प्रतिक्विन्टल ५० रुपैयाँका दरले नोक्सान भएको उनले बताए ।
उखुको मूल्य नबढ्ने हो भने किसानले उखु खेती नै छोड्नु पर्ने अवस्था आउने उनको भनाइ छ । चार वर्ष अघि चिनीको मूल्य प्रतिकेजी ६२ रुपैयाँ हुँदा तय भएको उखुको मूल्य अहिले आएर चिनी मूल्य ७५ रुपैयाँ पुग्दा समेत त्यहीँ छ । चिनीको बढेको मूल्य र उखु खेती गर्दा किसानलाई लाग्ने लागत मूल्यलाई हेरेर वैज्ञानिक मूल्य निर्धारण हुनुपर्नेमा सरकार नै उद्योगमुखी भयो ।