तामाकोशीको बहावमा उतारचढाव, सतर्कता अपनाउन आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र १४, सोमबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

चैत्र १४,दोलखा । दोलखाको बिगु गाउँपालिका–१, गोँगरमा सञ्चालनमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले तामाकोशी नदीमा पानीको वहाव उतारचढाव हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आयोजनाले सोमबार सूचना प्रवाह गरी नदीमा सुख्खामा याममा पानीको बहावमा उतारचढाव आउने भन्दै ताममाकोशी नदीको तल्लो भेगका बासिन्दालाई सचेत रहन आग्रह गरेको आयोजनाका प्रशासन वरिष्ठ प्रमुख मित्रमणि पोखरेलले बताए ।

उनका अनुसार आयोजनाबाट हरेक वर्ष सुक्खा याममा मङसिरदेखि जेठ महिनासम्ममा विशेष गरेर पिक आवर (बिहान ५ः०० देखि ११ः०० बजेसम्म र साँझ ५ः०० बजेदेखि राति १०ः०० बजेसम्म) मा राष्ट्रिय विद्युत् प्रणालीको आवश्यकतानुसार पूरा क्षमता (४५६ मेगावाट) सम्म पनि विद्युत उत्पादन हुने गरेको छ । यस क्रममा जलविद्युत् केन्द्रको सिस्नेरीस्थित टेलरेस आउटलेटबाट अधिकतम ६६ घनमिटर प्रतिसेकेण्ड पानी प्रवाह भई तामाकोशी नदीको बहावमा अचानक बढ्ने तथा पिक आवर पश्चात् पुनः बहाव घट्ने भइरहन्छ ।

यसले तामाकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने जगत, टुनीटार, जामुने, भोर्ले, सिँगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह क्रमशः बढ्दै जाने र पछि पुनः घट्ने चक्र हुने हुँदा तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरू सकेसम्म नगर्न÷नगराउनु हुन आग्रह गरिन्छ । त्यसै गरी नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार गर्दा वा नदीबाट गिट्टीबालुवा निकाल्नुपर्दा वा धार्मिक संस्कार वा अन्य कुनै प्रयोजनको लागि अन्य आवश्यक कार्यहरू गर्नुपर्दा समेत अत्यन्त सतर्कतापूर्वक र सावधानीका साथ ती कार्यहरू गर्न सम्बन्धित सबैमा सूचनामार्फत हार्दिक अनुरोध गरिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस