भोली आमाको मुख हेर्ने दिन, मातातीर्थ मेलाको तयारी पूरा

  • अनलाइन केन्द्र
  • / जीवनशैली /
  • २०८१ बैशाख २५, मंगलबार (१ हप्ता अघि)
  • १३४ पटक पढिएको
भोली आमाको मुख हेर्ने दिन, मातातीर्थ मेलाको तयारी पूरा

बैशाख २५, काठमाडौँ । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सम्पूर्ण तयारी पुरा भएको छ ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेलाको सम्पूर्ण तयारी पुरा भएको बताए । उनले मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति गठन गरी काम गरिएको जानकारी दिए ।

मातातीर्थ मेलामा आज साँझ बत्ती बाल्ने र बत्ती बालेको भोलिपल्ट औँसीका दिन आमाको मुख हेर्ने तथा स्नान गर्ने परम्परा छ । त्यसैले अघिल्लो दिनदेखि सो क्षेत्रमा मेला लाग्ने गर्छ ।

सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या बढ्दै गएको मन्दिरका पुजारी फणिन्द्र अधिकारीले बताए। उनका अनुसार उक्त कुण्डमा प्रत्येक दिन आठदेखि १० जना श्राद्ध गर्नका लागि आउँछन् ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न आउनेले गर्दा ठूलो मेला लाग्ने गरेको हो । उनीहरुले मातातीर्थ कुण्डमा स्नान र पूजा गर्ने गर्छन् । मातातीर्थ कुण्डमा दर्शन गरेमा छोराछोरीले दिवङ्गत आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिन्छ ।

काठमाडौँमा कोठा भाडामा बस्ने र नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने पुजारी अधिकारीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस