उपत्यकासहित यी १४ जिल्लालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १८, शुक्रबार (७ महिना अघि)
  • ७२ पटक पढिएको
उपत्यकासहित यी १४ जिल्लालाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिने

|विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक काठमाडौँ, १८ असोजः गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक । सौजन्य तस्बिरः गृहमन्त्रीको सचिवालय÷रासस

असोज १८, काठमाण्डौँ ।  सरकारले काठमाडौं, ललितपुर, भक्तपुरसहित १४ जिल्लालाई ‘विपद संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने भएको छ ।  आज (शुक्रबार) सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले बाढी, पहिरो, र डुबानबाट अत्यधिक प्रभावित १४ जिल्लामा पुनःस्थापना र पुनर्निर्माण कार्यलाई तीव्रता दिनका लागि सो निर्णय गरेको हो ।

बैठकको अध्यक्षता गृहमन्त्री रमेश लेखकले गरेका थिए । प्राधिकरणका सहसचिव वसन्त अधिकारीले सोबारे जानकारी दिँदै प्रभावित जिल्लाहरूलाई स्थानीय तहको समेत किटानी गरेर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिने बताए । सहसचिव अधिकारीका अनुसार ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक, र धादिङ गरी १४ जिल्लालाई बढी प्रभावित ठहर गरिएको छ ।

‘हामी स्थानीय तहहरूको पनि संख्या तोक्छौं र ऐनको दफा ३२ बमोजिम संकटग्रस्त क्षेत्र घोषणा हुनेछ’, अधिकारीले भने । गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी, पहिरो, र डुबानले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले अति प्रभावित क्षेत्र पहिचान गरी संकटग्रस्त घोषणा गर्न लागेको हो । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा २३९ जनाको मृत्यु भएको, १६९ जना घाइते भएका, र १८ जना अझै बेपत्ता रहेको जानकारी दिइएको छ । त्यस्तै, १७,१२० जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस