असोज २३,काठमाडौँ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्वभर मनाइने विश्व दृष्टि दिवस २०२४ को अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि अक्टोबर महिनाको दोेश्रो बिहिबारका दिनलाई आँखा स्वास्थ्य सचेतना मूलक कार्यक्रमको आयोजना गर्दै मनाउन लागेको जानकारी गराउँदछौं । यस वर्ष अक्टोबर १० तारिखका दिन (असोज २४) मनाइदै गरिएको विश्व दृष्टि दिवसको “आँखालाई माया गरौं’ (बालबालिकाको आँखालाई विशेष ख्याल गरौँ)” (Love Your Child’s Eyes) भन्ने नारा रहेको छ । यस नाराले बालबालिकाहरुको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबैपक्षहरुलाई समुदाय स्तरमै जनचेतना जगाउन, बालआँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवीगर्न अति आवश्यक रहेको सन्देश प्रदान गर्दछ ।
विश्वमा भएका विभिन्न अध्ययन अनुसार, पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरुको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरुको आँखामा विभिन्न समस्याहरु बढिरहेका छन् । विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० ले समेत सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसंख्यामा दृष्टिदोषको समस्या देखिनसक्ने पुर्वानुमान गरेको छ । जसको रोकथाम तथा न्यूनिकरणका लागि सबै पक्षहरुले सहकार्य गर्दे समुदाय स्तरमै जनचेतना अभिबृद्धि गर्न आवश्यक छ । बच्चाहरूमा हुनसक्ने दृष्टि कमजोरीलाई बेलैमा उपचार नगर्दा उनीहरूको शिक्षामा गम्भीर असर पर्न सक्छ । अनुसन्धान अनुसार, उपचार पहुँच भएका बालबालिका र चश्माले प्रयोग गर्न पाएमा बालबालिकाहरुको अध्ययन क्षमतामा हुने जोखिम ४४% ले घटाउन सकिन्छ । यस्तै विषयलाई मध्यनजर गरी विश्व दृष्टि दिवस २०२४ लाई विश्वभरका बालबालिकालाई एकमुष्ठ प्रेरित गर्न समर्पित गरिएको अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (WHO) ले उल्लेख गरेको छ ।
अहिले विश्वमा करिब ४ करोड ५० लाख बालबालिकाहरूमा दृष्टि सम्बन्धी समस्या रहेको अनुमान गरिएको छ भने त्यसमध्ये धेरै बालबालिकाहरु आँखा उपचार सेवाबाट बन्चित छन् । त्यस्तै नेपालमा करिब ११ लाख बालबालिकाहरुमा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ, जसमध्ये करिब ७ लाख बालबालिकाहरुमा उपचारको पहुँच पुगेको छैन ।
यस वर्षको नाराको व्यवहारिक पक्षलाई ध्यानमा राख्दै अस्पतालले साताव्यापी रुपमा विभिन्न बालमैत्री क्षेत्रहरु जस्तै विद्यालय, बाल अस्पताल, तिलगंगा आँखा प्रतिष्ठानको बालआँखा रोग विभाग लगायतका क्षेत्रमा स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरीरहेको छ । काठमाण्डौ उपत्यका र तिलगंगा आँखा प्रतिष्ठानका शाखाहरुका विभिन्न विद्यालयमा गरी ४० हजार भन्दा बढि बालबालिकाको आँखाजाँच स्थानिय सरकार, रेडक्रश, रोटरी, लगायतअन्य संघसंस्था आदिको सहकार्यमा सम्पन्न गरिएको छ ।
त्यस्तै, प्रतिष्ठानले बालबालिकाको उपचार पहुँचलाई ध्यानमा राखीअसोज २२ गते कान्तिबाल अस्पतालमा आँखा परिक्षण शिविर सञ्चालन गरेको थियो भने असोज ४ गते प्रेश काउन्सीलसँगको सहकार्यमा सञ्चारग्राममा सञ्चारकर्मी तथा पत्रकारलाई लक्षित गरी आँखा परिक्षण शिविर सञ्चालन गरेको थियो । त्यस्तै देशभरका विभिन्न स्थानका सामुदायिक तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतना वृद्धि गर्ने उद्धेश्यले विविध कार्यक्रमहरु आयोजना गरिएको छ ।
हेटौडा सामुदायिक आँखा अस्पतालको टोलीले विभिन्न ७ शैक्षिक निकाय, बाल गृह लगायतका बालमैत्री स्थानमा आँखा शिविर सञ्चालन गरि करिब ५०० बालबालिकाको आँखा जाँच गरेको छ भने अस्पताल प्राङ्गणमा विभिन्न मास्कोट कार्टुन पात्रबाट आँखा स्वास्थ्य बारे जनचेतना अभिवृद्धि गरिएको छ । यस बाहेक, तिलगंगा आँखा प्रतिष्ठानले बालबालिका विशेषत विद्यार्थीहरुको आँखा स्वास्थ्यलाई ध्यानमा राखी २०२४/२५ को वार्षिक कार्ययोजना बनाई तालिका अनुसार कार्यक्रमहरु सञ्चालन गर्नेछ ।
मूल रुपमा बालबालिका, अभिभावक, विद्यालय र संरक्षकहरुमा जनचेतना अभिवृद्धि गर्ने उद्धृश्यले यस वर्ष प्रतिष्ठानले सोहि अनुरुपका अडियो–भिडियो लगायतका अन्य प्रचार सामाग्री तयार गरेको छ ।